अहिले नेपाली युवा गल्फ खेलाडीहरुको नाममा अग्रस्थानमा आउँछ, सुवास तामाङको नाम । किनकि यीनै सुवासले केहीअघि सकिएको १३ औं सागमा नेपालका लागि गल्फबाट स्वर्ण पदक जिताए । त्यो पनि दुई वटा– एउटा व्यक्तिगत र एउटा टिम इभेन्टमा ।
त्यसैले अहिले नेपाली गल्फरहरुमा सुवासको नाम छुट्दैन ।
तर, यो स्वर्णसम्मको यात्राका लागि सुवासले जुन संघर्ष र दुःख गरेका छन्, त्यसको कथाले जो कसैका पनि आँखा रसाउन थाल्छ ।
पछिल्लो पटक सुवासको आँखा रसाएको चाहिँ यही स्वर्ण जितेर गाउँमा फर्किएपछि हो ।
‘ओहो, गाउँमा सबैले मलाई राम्रोसँग स्वागत गर्नुभयो, बधाई दिनुभयो,’ सुवासले सम्झिए ।
यही सुखद सम्झनासँगै केही दिनअघि भएको भेटमा हामीले सुवासलाई त्यही गाउँको बाल्यकालिन सम्झनामा पुर्यायौँ ।
‘मसँग गाउँका सुखद सम्झना अत्यन्त कम छन्,’ सुवासले भने, ‘मैले थाहा पाउँदा हाम्रो घर निकै पुरानो थियो, निकै कमजोर थियो, दाउराले बारेर लिपिएको छाप्रोमा मेरो परिवार बस्थ्यो ।’
‘अनि खान पनि पुग्दैनथ्यो,’ सुवासले भने, ‘अलकत्राका ड्रमले छाएको घरमा हामीले दुई छाक पनि पेटभर खान पाउँदैनथ्यौँ ।’
सुवासका बा र आमा इँटा भट्टामा काम गर्थे, त्यसैले सुवासको बाल्यकाल पनि त्यहाँ नै बित्यो । ‘खान नपुग्ने घरमा जन्मिएपछि कसरी स्कुल जाने कुरा सोच्न सकिन्छ र ?’ सुवासले लामो सास ताने, ‘म पनि बाआमाको पछाडि लागेर इँटाभट्टामा जान्थेँ, दिनभर त्यहाँ नै बित्थ्यो ।’
अलिक हुर्किएपछि सुवासलाई पढ्न स्कुल पठाउने कि अरु केही गराउने भन्ने सोच्न थाले, सुवासका बाआमाले । सुवासकी क्षमा (आमाकी बहिनी)ले त्यति नै बेला छोरा जन्माइन् । उनको घरमा कोही थिएनन्, जसले भर्खर जन्मिएको छोराको स्याहारसुसार गरोस् । अनि उनले दिदीलाई भनिन्– सुवासलाई यहाँ पठाइदे, छोरा हेर्छ, मलाई सजिलो हुन्छ ।
त्यति बेला नौ वर्षका मात्र थिए, सुवास । उनी काठमाडौं आए, भाइको स्याहार सुसार गर्नतिर लागे । दुई वर्ष आफ्नै आन्टीको घरमा बसे सुवास ।
सुवासको मामाहरु पनि काठमाडौंमै बस्थे । एक दिन उनी मामाघर गए । माइजूले भान्जालाई भनिन्– यो खाना दाइलाई पुर्याएर आउनु न ।
सुवासका मामाका छोरा विनोद त्यति बेला रोयल नेपाल गल्फ क्लबमा काम गर्थे । सुवास ११÷१२ वर्षका थिए । उनी हटकेसमा दाइलाई खाना पुर्याउन निस्किए ।
अनि फेरियो सुवासको यात्रा, सुवासको बाटो ।
त्यो दिन दाइलाई खाना पुर्याउन गएका सुवासलाई त्यहाँ काम गरिरहेका श्याम तामाङले सोधे– यहाँ काम गर्ने मान्छे चाहिएको छ, तिमी पनि काम गर्छौ ?
सुवाससँग केही काम थिएन, कहिले क्षमाको घरमा कहिले मामाको घरमा बसिरहेका थिए उनी । केही काम गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेका पनि थिए ।
श्यामको यो प्रस्तावमा उनले केही पनि नसोची भने– काम पाए त गरिहाल्छु नि, किन नगर्नु ?
भोलिपल्टैबाट सुवासले काम गर्न थाले, रोयल नेपाल गल्फ क्लबमा ।
‘त्यति बेला काम नगर्नुको कुनै विकल्प नै थिएन,’ सुवास मुसुक्क हाँसे, ‘घरमा पैसा थिएन, मैले केही न केही गर्न पथ्र्यो, काम पाएपछि छोड्न मन लागेन ।’
त्यहाँ सुवासको काम थियो– अरु गल्फरहरुले हानेका बलहरु टिप्ने, उनीहरुको झोला बोकिदिने वा उनीहरुको सामानको हेरचाह गर्ने ।
काम गर्दागर्दै सुवासले गल्फ बललाई मनमा राख्न थालिसकेका थिए । ‘मौका मिल्यो कि म पनि अरुहरुले गरेको देखेर नक्कल गर्थेँ,’ सुवासले भने, ‘गल्फ बल टिप्न जाँदा स्टिक पाएँ भने एक सट प्रहार गरिहाल्थेँ, विस्तारै मैले गल्फ सिक्न थालेँ ।’
त्यति बेला सुवास कामका लागि गल्फ कोर्समा विहान ६ बजे पुग्थे । १२ बजेसम्म उनी काम नै गर्थे, त्यसपछि गल्फ बललाई प्रहार गर्न थाल्थे ।
एक दिन उनलाई गल्फ एशोसियसनका अध्यक्ष टासी घलेले देखे । त्यति बेला सुवास स्टिक समातेर गल्फ बल प्रहार गरिरहेका थिए ।
‘उहाँलाई म खेलेको मन परेछ,’ सुवासले भने, ‘मेरो स्विङ मन पराएकाले उहाँले मलाई खेल्न प्रेरित गर्नुभयो, जुनियर टिममा बस्न पनि भन्नु भयो ।’
अनि बल्ल सुरु भयो, सुवासको व्यवसायिक गल्फ यात्रा । यो यात्राको सुरुवात देखि नै सुवासले मनमा सजाएका छन्, अमेरिकी गल्फ खेलाडी टाइगर उड ।
‘टासी सरले त्यो अवसर नदिनु भएको भए अहिले पनि म कसैको गल्फ ब्याग बोकिरहेको हुन्थेँ होला,’ सुवासले भने, ‘उहाँ मेरा लागि भगवान बनेर आउनु भयो, मलाई चाहिने सबै गल्फका सामान पनि उहाँले नै किनिदिनुभयो ।’
टासीको यही सहयोगका कारण सुवासले त्यसपछि प्रतियोगिताहरुमा प्रतिस्पर्धा पनि गर्न थाले । ‘भुटान, सिंगापुर, भियतनाम, चीन, थाइल्यान्डजस्ता देशमा गएर गल्फ खेलिसकेको छु,’ १७ वर्षका सुवासले सम्झिएँ, ‘आजभन्दा चार वर्षअघि पहिलो पटक विदेशमा गएर गल्फ खेलेँ, भुटानमा ।’
विस्तारै नेपाली गल्फरहरुमा राम्रो स्थान बनाएका सुवासले यसअघि घरेलु प्रतियोगिताहरुमा सहभागीता जनाइसकेका छन् । उनी १६ वर्षको हुँदा पहिलो पटक सूर्य नेपाल गल्फ च्यालेन्जर खेल्न पुगे, त्यसमा रेकर्ड बनाए र उपाधिसँगै धेरैको मन जिते ।
स्कुलको आँगनमा तीन वर्षभन्दा बढी पाइला नटेकेका सुवासलाई टासीले नै विदेशी प्रशिक्षकको व्यवस्था समेत गरिदिए, उनको खेल निखारिन पायो । अनि उनले मिहनेत गर्न पनि छाडेनन् ।
फलस्वरुपः उनले १३ औं सागमा स्वर्ण जिते ।
‘सागमा स्वर्ण जित्छु भन्ने त मेरो कल्पनामा पनि थिएन,’ सुवास लजाए, ‘अरु देशका खेलाडी निकै एजेड हुनुहुन्थ्यो, कपाल दाह्री फुलेका खेलाडीसँग म फुच्चेले कम्पिटिसन गर्न सक्छु भन्ने नै लागेको थिएन ।’
तर, सुवासलाई थाहा थियो, मैदानमा एक दिनको कुराले मात्र जित निर्धारण गर्दैन । उनले लामो समयदेखि प्राक्टिस गरिरहेका थिए । फलस्वरुपः उनले स्वर्ण जिते ।
‘स्वर्ण जितेपछि सबैभन्दा पहिले मैले घरमा फोन गरेँ,’ सुवासले त्यति बेलाको त्यो खुसी घरमा साट्न पाएनन्, ‘फोन लागेन, तर भोलिपल्ट मैले फोन गर्दा घरमा थाहा पाइसक्नु भएको रहेछ ।’
उनको घरमा मात्र होइन, सुवासले स्वर्ण जितेलगत्तै उनी नेपालका मिडियामा समाचार बनेका थिए, त्यसैले नेपालले नै उनीसँग खुसी मनाएको थियो । उनको गाउँमात्र होइन, सुवासले स्वर्ण जित्दा नेपालका सबै गाउँहरु खुसी भएका थिए ।
स्वर्ण जितेर साग खेलकुदको इतिहासमा नाम लेखाए पनि सुवासको मनमा भने केही छुटिरहेको छ– त्यो हो, उनको पढ्ने चाहना ।
‘पढ्न पाइनँ,’ सुवासले भने, ‘त्यसैले मैले आफ्नै विदेशी प्रशिक्षकका नाम पनि भन्न सक्दिनँ, तर पढ्न पाएको भए अहिले यो ठाउँमा आउन सक्दिनथेँ कि भन्ने पनि लागिरहन्छ ।’
त्यसैले अब आफूले पढ्न नपाएको कुरामा रिग्रेट गरेर मात्र सुवास बसिरहेका छैनन्, उनी त बरु भाइलाई राम्रो स्कुलमा पढाउन चाहन्छन् । ‘राम्रो स्कुलमा पढाउने हो भने उसले पनि मैले जस्तै अंग्रेजी नजानेर दुःख पाउने थिएन,’ सुवासले भने ।
योसँगसँगै गल्फसँग सम्बन्धित नै केही सपना पनि बनाएका छन्, सुवासले । जस्तो कि उनी इन्डिया गल्फ टुरमा भाग लिन चाहन्छन् ।
‘त्यो टुरमा भाग लिने हो भने विश्व वरियतामा सहभागी हुन सहयोग पुग्थ्यो,’ सुवासले भने, ‘त्यसैले आजभोलि त्यसका लागि मेहनेत गरिरहेको छु । मलाई थाहा छ, त्यहाँ जान मैले अझै पनि केही वर्ष कडा मेहनेत गर्नै पर्छ ।’
त्यसका लागि सुवास आजभोलि अंग्रेजी पनि सिकिरहेका छन् ।
सुवासलाई थाहा छ, जीवनमा केही कुरा पनि सहज छैन । ‘तर, दृढ भएर मेहनेत गर्ने हो भने सबै कुरा पूरा हुनसक्छन्,’ सुवासले भने, ‘मेरै जीवनबाट पनि म यो कुरा त सिक्न सक्छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।