राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउनेमा प्रचण्ड र माधव नेपाल सहमत, वामदेवका लागि ग्रिन सिग्नल

काठमाडौं– राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउनेमा नेकपाका दुई पूर्वप्रधानमन्त्री सहमत भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सो विषयमा सहमत भएपछि प्रधानमन्त्रीका आकांक्षी नेता वामदेव गौतमका लागि राष्ट्रिय सभामा जान ग्रिन सिग्नल प्राप्त भएको छ । 

वामदेव गौतमले राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न पाउने नभएसम्म राष्ट्रिय सभामा नजाने अडान लिएपछि यो विषयमा नेकपाभित्र छलफल जारी छ । संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने बनाउने विषयमा नेकपाभित्र बहस भइरहेको छ । बुधबार भैँसेपाटीस्थित गौतमकै निवासमा भएको छलफलमा यस विषयले सकारात्मक गति लिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले पहलमा भएको छलफलमा गौतम र नेपालसँगै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्नु नीतिगत रुपमा सही छ भन्नेमा गौतमसँगै प्रचण्डल र नेपाल सहमत भएको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली पनि नीतिगत रुपमा सहमत रहेको नेताहरुको दाबी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्वयं यस विषयमा नीतिगत रुपमा सहमत भएकाले संविधान संशोधनका लागि उनैसँग थप कुरा गर्ने नेताहरुबीच सहमति भएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार १५:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया