गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उक्त जानकारी दिएका हुन् । बुधबार बसेको बैठकले माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक पारित गर्दै आन्तरिक मामिला कानुन मन्त्रालयमार्फत प्रदेश सभामा पेश गर्ने निर्णय पारित गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेटमा प्रदेशभित्र रहेका कला साहित्य, भाषा, संस्कृति, ललितकला, नाट्यकलालगायतको उन्नयन, विकास र अनुसन्धानसँगै आवश्यक काम गर्न प्रतिष्ठान आवश्यक रहेकाले स्थापनाका लागि विधेयक तयार गरी प्रदेश सभामा पेश गर्न लागेको हो । 

बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र संचालन गर्न बनेको विधेयकसमेत स्वीकृत गर्दै प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । यसैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका ६ र आर्थिक मामिला तथा योजना मन्त्रालयको २ गरी आठ वटा कार्यविधि बैठकले पारित गरेकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे छ । यस्तै कर्मचारी सरुवा तथा पदस्थापन सम्बन्ध मापदण्डसमेत पारित गरेको छ ।





  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार २३:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया