सकियाे ओली—प्रचण्ड बैठक, यी विषयमा भए छलफल
फाइल तस्वीर ।

काठमाडाैं— नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक सकिएको छ ।

विहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा चार विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । छलफल भएका विषयहरुमा द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न निकायका नियुक्तीलगायत छन् ।

पार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध चयन भएपनि उपसभामुख उम्मेदवार कसलाई बनाउने भन्ने नेकपाले तय गर्न सकेको छैन । उपसभामुखका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) मुख्य रुपमा दावेदार देखिएका छन् ।

यसमध्ये प्रचण्ड उपसभामुखको जिम्मेवारी नेपाली कांग्रेसलाई दिनुपर्ने पक्षमा छन् भने ओली राजपाबाट उपसभामुख बनाउनुपर्ने पक्षमा छन् । यद्यपी, ओली–प्रचण्डबीच आजको भेटवार्तामा नेकपा केन्द्रीय कमिटी बैठकबारे छलफल भएन । नेकपाले केन्द्रीय कमिटी बैठक १५ माघका लागि बोलाएको छ ।

पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डले पाएपनि महत्वपूर्ण विषय आपसी सहमतिमा टुङ्ग्याउने समझदारी अनुसार प्रचण्डले ओलीसँग परामर्श गर्ने गरेका छन् । शीर्ष नेताद्वयबीच उपरोक्त विषयमा शनिबार (११ माघ) मा पनि बालुवाटारमा छोटो वार्ता भएको थियो । तर, ओलीको समय अभावका कारण आजका लागि बैठक सारिएको थियो ।





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार १२:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया