नेपालमा प्रतिवर्ष तीन हजार कुष्ठरोगी थपिन्छन्

काठमाडाैं– कुष्ठरोगले अपा‌ंगता भएकाकाे संख्या नेपालमा हालसम्म करिब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दी लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्त रूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको हो । 

कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको संख्या झण्डै एक लाख ९५ हजार र हरेक वर्ष  तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम पनि निरन्तर रहेको अध्ययनमा जनाइएको छ । तीन वर्षको अवधिमा प्रति एक लाख जनसंख्यामा नयाँ बिरामीको चाप प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ ।

प्रदेश नं २ मा आर्थिक वर्ष २०७३/७४ मा १८ दशमलव ७९, २०७४/७५ मा १९ दशमलव ७७ प्रतिशत र  २०७५/७६ मा झन् बढेर २४ दशवलव २८ पुगेको देखिन्छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा आव २०७३/७४ मा आठ दशमलव १५ प्रतिशत, २०७४/७५ मा सात दशमलव ५१ प्रतिशत र २०७५/७६ मा नौ दशमलव २८ प्रतिशत पुगेको छ ।

अस्पतालमा उपचार गराएका कुष्ठरोगीको संख्या हालसम्म २१ हजार ३ सय ३९ पुगेको छ ।  सन् २०१८ मा अस्पतालमा नयाँ  बिरामी १ सय ५०, औषधि खाने  ३ सय ७२, मिसनले विशेष उपचारका लागि सिफारिस गरेका संख्या ६९, पुनः अंग फेर्ने वा हटाउने चिरफार गरिएको १ सय १३ तथा सामान्य चिरफार गरिएको दुई हजार १ सय २४ र अस्पतालमा भर्ना भई उपचार गराएको संख्या ८ सय ६५ रहेको अस्पतालले जनाएको छ ।

तीन वर्षको उपचारमा रहेका बिरामीको चापमा  प्रदेश नं २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ । प्रदेश २ मा आव २०७३/७४ र २०७४/७५ मा ३४ र  २०७५/७६ मा ४० प्रतिशत पुगेको अध्ययनले देखाएको छ ।  वाग्मती प्रदेशमा आव २०७३/७४ र २०७४/७५ मा छ प्रतिशत र २०७५/७६ मा १० प्रतिशत रोगी संख्या बढेकाे जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा आव २०७३/७४ र २०७४/७५ मा आठ र  २०७५/७६ मा बढेर १० प्रतिशत पुगेको जनाइएको छ ।

चिकित्सकका अनुसार सो रोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने गर्दछ ।  खासगरी छाला र नशामा असर गर्ने गरेको कुष्ठरोग विशेषज्ञ डा महेश शाहले बताए ।



कुष्ठरोग निकै कम सरुवा रोग भए पनि रोग सरेको दुईदेखि पाँच वर्षभित्रमा लक्षण देखा पर्न थाल्छन् । कुष्ठराेगलाई चिह्न र लक्षणका आधारमा दुई भागमा बाँडिने गरिन्छ । बढी कीटाणु भएको रोगलाई एमबी र  कम कीटाणु भएको रोगलाई पिबी कुष्ठरोग भनिन्छ । यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । बढी कीटाणु भएका बिरामीले १२ महिना र कम कीटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्छ । बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत कीटाणु निष्क्रिय बनाइदिने चिकित्सक शाहले जानकारी दिए । 
 
कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार गत आव २०७५/७६ मा पत्ता लागेका नयाँ बिरामीको संख्या तीन हजार २ सय ८२ रहेको थियो । हालसम्म १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन । 



  • प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार १५:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया