भरतपुर महानगरपालिकालाई धूम्रपानरहित सहर बनाइने

चितवन– भरतपुर महानगरपालिकालाई धूम्रपानरहित सहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ । 

महानगरलाई धूम्रपानरहित सहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य सुरु गरिएको महानगर प्रमुख रेनु दाहालकाे भनाइ छ । गत साता इण्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेकी थिइन् ।   

सो कार्यक्रममा १२ देशका ४० नगरका प्रमुखको सहभागिता रहेको थियो । नेपालबाट भरतपुर महानगर प्रमुख दाहालको उपस्थिति थियो । बोगरमा भएको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याइने महानगर प्रमुख दाहालले बताइन् । उनले सूचना प्रकाशित गरी भरतपुर महानगरमा सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको बताइन् ।

भरतपुर महानगरपालिकाले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशन गरी महानगरभित्र सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको जनाएको छ ।  होटल रेष्टुरेन्टमा तोकिएको स्थानमा मात्र धूमपान गर्न पाइनेछ ।  

प्रमुख दाहालका अनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार भरतपुर महानगरपालिका सार्वजनिक स्थल,  सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय, तथा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णत निषेध गरिएको छ ।

तोकिएको स्थानमा पनि अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । महानगरले लगाएको नियमविरुद्ध जाने जो कसैलाई पनि कानुनबमोजिम सजाय हुने महानगर प्रमुख दाहालको भनाइ छ ।  





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १५:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया