प्रधानमन्त्रीले पदमा रहने राजनीतिक र नैतिक हैसियत गुमाइसक्नुभयाे : गगन थापा

बर्दिया– नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गर्नुपर्ने बताएका छन् । बर्दियामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत प्रधानमन्त्रीले गुमाइसकेको बताए ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियोबारे प्रधानमन्त्रीलाई दुई महिना पहिले नै थाहा भएको बताउँदै थापाले त्यही प्रधानमन्त्रीले बास्कोटाजस्तो प्रतिभा आफ्नो सरकारमा अरु कोही छैन भननु लज्जास्पद रहेको बताए । 

 ‘प्रधानमन्त्रीले भन्नुभयो, गोकुल बास्कोटा एकातिर, अरु मन्त्री अर्कोतिर राखेर तौलौँ, गोकुल बास्कोटाले जित्नुहुन्छ,’ थापाले भने, ‘यसो भन्दै गर्दा प्रधानमन्त्रीले के के तौलिने भन्नुभएको, मान्छे कि जम्मा गरेको धन ?’

यो प्रकरणमा स्वयं प्रधानमन्त्री नै संलग्न भएको दाबी गर्दै उनले भने, ‘तपाईं संलग्न हुनु भएकाले गोकुल बास्कोटाजति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो ।’

जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिकको छ, प्रधानमन्त्रीकै घरमा बस्छ र सरकारको प्रवक्ता छ भने उसले गरेको यत्रो घोटाला प्रधानमन्त्रीले थाहा नपाउने कुरै नहुने थापाको ठहर छ । 

‘आजको दिनमा उहाँसँग प्रधानमन्त्री हुने संख्याको ताकत त होला, तर नेपालको प्रधानमन्त्री हुने राजनीतिक र नैतिक हैसियत गुमाइसक्नुभएको छ,’ सांसद थापाले भने, ‘जति दिन उहाँ प्रधानमन्त्री भएर रहनुहुन्छ, त्यति अवसर गुमाउँछौँ ।’





  • प्रकाशित मिति : फागुन ११, २०७६ आइतबार १८:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया