गाेरखाकाे बारपाकमा जिप दुर्घटना, ११ जना घाइते, चारजना गम्भीर

गोरखा– बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा मंगलबार बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिप सडकबाट झण्डै ५० मिटर पछाडि खसेको गुरुङले बताए । घाइतेमध्ये दुईजनाको दाँतसमेत झरेको र घटनालगत्तै प्रहरीसमेत घटनास्थलमा आइपुगिसकेको स्थानीयकाे भनाइ छ । दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीया विमला गुरुङ, सोही ठाउँकी ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते छन् ।

अन्य घाइतेमा सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले जानकारी दिए ।  घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर रहेको उनले बताए । घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ । घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७६ मंगलबार १६:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया