आइसोलेसन वार्ड स्थापना गर्न भक्तपुरका ६ अस्पताललाई निर्देशन

भक्तपुर– भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ६ अस्पताललाई ‘आइसोलेसन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ । नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, डा.इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बालअस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएमा स्वास्थ्य परीक्षण गर्न छुट्टै शय्याको व्यवस्था गर्न पत्राचार गरेको छ ।

नगरपालिकाले कोभिड–१९ को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको र छिमेकी मुलुकमा यसको प्रभाव बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा रहेको ठहर गर्दै यसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि यस नगरपालिका क्षेत्रभित्र रहेका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक न्यूनतम मात्रामा छुट्टै शय्याको व्यवस्था मिलाउन अस्पताललाई पत्राचार गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

उनले भक्तपुरमा कोरोना संक्रमित व्यक्ति भेटिए बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा सिफारिस गरी पठाउने व्यवस्था गर्न तथा कोभिड–१९ को संक्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १६:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया