नेपाली भूमि भारतमा परेकाे भन्दै सीमास्तम्भ ताेडफाेड
तस्वीर: रासस ।

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३ बैवाहमा नेपाल भारत सीमा सर्भे टोलीले बनाएको सीमा स्तम्भ स्थानीय बासिन्दाले तोडफोड गरेका छन्‌। सर्भे टोलीले बनाएको ७८३/४ नम्बरको सीमा स्तभमा शनिबार तोडफोड गरिएको हो। हतौडा र ढुङ्गा प्रहार गरी सीमा स्तम्भ तोडफोड गरिएपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा सीमा स्तम्भ राख्न नेपाली भूमिमा नहर किनारमै खनिएका खाल्डा समेत स्थानीय बासिन्दाले पुरिदिएका छन्‌।  नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहरा, पूर्व संविधानसभा सदस्यद्वय दिवान सिंह विष्ट, बहादुरसिंह थापा सहितका नेताहरुले सीमा क्षेत्रको अवलोकन गर्नुअघि सीमा स्तम्भ तोडफोड गरिएको हो। स्थानीय बासिन्दाले नेपाली बासिन्दाको लालपूर्जा भएको जग्गा अतिक्रमण गरी सीमा स्तम्भ गाडिएपछि सीमा स्तम्भमा तोडफोड गरिएको बताएका छन्‌।

स्थानीय बासिन्दाको लालपूर्जा भएको जग्गा भारत तर्फ देखिइन थालेपछि विवाद बढेपछि सीमा सर्भे टोलीले यस क्षेत्रको सर्भेको काम स्थगित गरेको छ। नेपाली भूमि भारतमा पार्न खोजेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन्‌। नेपाली काँग्रेसका जिल्ला सभापति हरि बोहराले जनआक्रोशका कारण सीमास्तम्भमा तोडफोड भएको बताए। नेपाली काँग्रेसका कार्यकर्ताले सीमास्तम्भमा तोडफोड नगरेको उनको भनाई रहेको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद तथा संविधान सभा सदस्य दिवानसिंह बिष्टले सरकारले सीमा विवाद प्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताए। उनले सीमा स्तम्भ भत्काउने कार्य नेपाली कांग्रेसले नभई सोही स्थानका नागरिकले स्व:स्फुर्त भत्काएको बताए। नेपाली कांग्रेसको टोलीले बेलडाँडीको झिलमिला र वैवाहा तथा बेलौरीको भुडा र पचुँईमा सीमा स्तम्भको शनिबार स्थलगत अनुगमन गरेको थियो ।

बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने खप्टि पुलदेखि हुलाकी सडक हुँदै पुरानो ३८ नम्बर सीमास्तम्भ सम्मको भुभाग भारतले आफ्नो भएको दाबी गर्दै आएको छ। भारतीय पक्षले बेलाबेलामा हुलाकी सडकखण्ड निर्माणको काममा समेत अवरोध सृजना गर्दै आएको छ।  बेलौरी नगरपालिका १० भुडामा नेपाल सरकारले प्रदान गरेको जमिनको लालपुर्जा नागरिकको हातमा छ र हालसम्म उक्त जमिन नेपाली नागरिकले भोगचलन गर्दै आएका पनि छन्‌। साविकको सीमा मानिएको क्षेत्र चौधर नदि भन्दा भित्र नेपाली भुमि (नहरसम्म) मा सीमा सर्भे टोलीले सीमा स्तम्भ निर्माण गर्न थालेपछि दर्ता जग्गा भारतमा पार्न खोजेको भन्दै स्थानीय नागरिकले अबरोध सृजना गरेका छन्‌ ।

गतहप्ता सतारुढ नेकपा कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक पल्लव राज भट्टको संयोजकत्वमा अन्तर्राष्ट्रिय सिमा सरोकार समूह कञ्चनपुर गठन गरिएको थियो। समूहको सकृयतामा कञ्चनपुरका जनप्रतिनिधि सहितले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाइएको थियो। ज्ञापनपत्रमा सुगौली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ (जंगे पिलर) लाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको आधार बनाउन र नियतवश सारिएका, गायब पारिएका पिल्लरलाई खोजी गरेर पुनःस्थापना गर्न माग गरिएको थियो ।



पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भिम रावलले नापी विभागका निर्देशक लगायत कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समेतलाई टेलिफोन गरी सिमामा विवादास्पद कार्यलाई तत्काल रोक्न निर्देशन दिएको बताइएको छ। गृहमन्त्री भएका बेलासम्म स्ट्रिप नक्सामा दुई देशका सरकारबीच हस्ताक्षर भइनसकेको र दुई देशका नापी विभागले मात्र हस्ताक्षर गरेको उक्त स्ट्रिप नक्सालाई पुनरावलोकन नगरी कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्‌।



  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १०:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया