रिसले हुन्छ हृदयघात

मानिसलाई रिस उठ्नु स्वाभाविक प्रक्रिया हो । तर, बढी रिसाउने बानी भने मानिसका लागि सबैभन्दा बढी घातक साबित हुन्छ । पुरानो उखान छ– ‘रिसले आफैँलाई खान्छ ।’ त्यसैले यो सत्य हो कि रिसले जिन्दगी बर्बाद त पार्छ नै, मृत्युको मुखमा समेत पु-याउन सक्छ । हृदयाघातको एउटा प्रमुख कारण रिस पनि भएको प्रमाणित भइसकेको छ । यसरी हुन्छ रिसले हृदयाघात :

रिसले यसरी हृदयाघात
प्याथोफिजोलोजीमा जाँदा रिसले हाम्रो शरीरमा विभिन्न रसायन उत्पादन गर्छ । जसको हामीले अनुभूति पनि गर्न सक्छौँ । रिस उठेका वेला गर्मी हुने, काम्ने, असहज अनुभूति हुने यसैको परिणाम हुन् । जसलाई एडेनर्जिक रेस्पोन्स पनि भनिन्छ ।

यसले मुटुको धड्कन, रक्तचाप बढाउने काम गर्छ र रक्तनलीहरू साँघुरिन थाल्छन् । यसले क्लाटिन टेन्डेन्सी बढाउँछ र रक्तप्रवाहमा अवरोध सिर्जना हुन्छ ।

अनि मुटुमा भएको कोलेस्ट्रोलको लेयर लक्चर हुन्छ । त्यसपछि मुटुमा क्लट जम्छ । अनि मुटुको रक्तनली बन्द हुन्छ र हृदयाघात हुन्छ ।

स्वस्थ व्यक्तिमा
मुटुमा कोलेस्ट्रोल लेयर हुन्छ कि हुँदैन भन्ने कुरा धेरै कमलाई जानकारी हुन सक्छ । सबै उमेरसमूहका मानिसमा कुनै न कुनै मात्रामा मुटुमा कोलेस्ट्रोलको लेयर हुन्छ । यो लेयर सानो घटनाले फुट्न सक्छ । या यो फुट्न कुनै बेर लाग्दैन । त्यसको एउटा कारण रिस पनि हो ।



यस्ता व्यक्ति जोखिममा हृदयाघातको कारण रिस एउटा मात्र होइन । तर, एउटा प्रमुख कारणचाहिँ हो । हृदयाघातका वेला मानिसमा उत्तेजना हुन्छ । त्यो उत्तेजना अरूले पनि उत्पन्न गर्ने गर्छन् ।

विभिन्न संक्रमण, फोक्सोको संक्रमण भएपछि, इमोसनल अपसेट, स्ट्रेसलगायतका कारण हृदयाघात हुन सक्छ । तर, मुटुरोग भएका व्यक्ति रिसाउँदा उनीहरूलाई हृदयाघात हुने सम्भावना अत्यधिक हुन्छ । मुधमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल भएका व्यक्ति र धूम्रपान गर्नेलाई रिसाउँदा हृदयाघात हुने सम्भावना अत्यधिक हुन्छ ।



रिसको कारण नबनौँ
दुई वर्षअघि अस्पतालमा एकजना बिरामीसँग झगडा परेको थियो । त्यो विवादका वेला मलाई रिस उठ्नु स्वाभाविक पनि थियो । तर, त्यहाँ कुनै अप्रिय शब्दको भने प्र्रयोग गरिएको थिएन ।

 

त्यो विवादपछि मलाई असहज अनुभूति भयो । गाडी ड्राइभ गरेर घर फर्कंदै थिएँ, मलाई निकै अप्ठ्यारो अनुभूति भयो । र, छातीको देब्रेतिर पीडा हुन थाल्यो । त्यसपछि मैले गुगलमा खोज्दा थाहा पाएँ कि रिसले हृदयाघात बनाउँछ ।

आजभोलि मलाई कोही रिसाएको देख्यो भने दया लाग्छ । किनभने, ऊ मुटु र स्ट्रोकको खतरामा हुन्छ । हामी पनि कसैको हृदयाघातको कारण नबनौँ । म त कहिल्यै यो काम गर्दिनँ । रिस भनेको जलेको अंगार अरूमाथि फ्याक्नु हो । तर, अरूमा फ्याक्नुभन्दा पहिले आफ्नै हात पोल्छ ।

त्यसैले परिवार होस् या कार्यथलो, सबै ठाउँमा हामी रिसको कारक बन्नु हुँदैन । यदि तपाईंलाई कार्यथलोमा कसैले रिसाउने अवस्था निर्माण गर्छ भने कामको प्याट्रन नै परिवर्तन गर्न सक्नुहुन्छ ।

र, यो पनि
रिसले भ्रम उत्पन्न गर्छ । र, भ्रमले मस्तिष्कमा असर गर्छ । जसका कारण व्यक्तिको तर्कशक्तिमा ह्रास आउन थाल्छ । अनि उसको पतनको सुरुवात हुन्छ । रिसले मानिसलाई पतन र सफलताबाट असफलताको बाटोतर्फ मोड्छ । तर, यसले मस्तिष्कमा मात्र होइन, मुटुमा पनि असर गर्छ ।

अनुसन्धान
युरोपियन हार्ट जर्नलमा २०१५ मा प्रकाशित भएको रिसर्चले रिसले हर्ट एट्याक हुने देखाएको छ । एरिक ब्लकेज हुने १३ हजारभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनले रिसाउने व्यक्तिमा मस्तिष्कघात र हर्ट एट्याकको सम्भावना दुई गुणाभन्दा बढी हुने देखाएको छ ।

त्यस्तै, अस्टेलियाको सिड्नीमा सन् २००६ देखि २०१२ सम्म एक अध्ययन गरिएको थियो । उक्त अध्ययनअनुसार हृदयाघात भएका अधिकांश व्यक्तिलाई घटना भएको २४ घन्टाभित्र निकै रिस उठेको थियो । त्यसको प्रतिशत २ दशमलव २ छ ।

अनुसन्धानअनुसार कम रिसाउनेभन्दा बढी रिसाउने व्यक्तिलाई हृदयाघातको सम्भावना आठ गुणाले बढी हुँदो रहेछ । त्यसैले अचानक रिस उठ्दा पनि हृदयाघात हुन सक्छ । र, उक्त अनुसन्धानले २९ प्रतिशत मानिस परिवारका सदस्यका कारण रिसाएको देखाएको छ । जसको कारण उनीहरूलाई हृदयाघात हुन पुग्यो ।

  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार ६:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया