कांग्रेसको प्रश्न– स्वास्थ्य सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीमा किन ढिलाइ ?

काठमाडौं– नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले यो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेकोे एवं समाचार लेख्ने र बोल्नेलाई हतोत्साहित गर्न खोजिएको विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । 

नेपाली कांग्रेसले कोरोना सचेतना र सहयोग क्रममा आफ्ना धारणा, सुझाब र अपिल नियमित रूपमा सार्वजनिक गर्दै आएको उललेख गर्दै उनले मेडिकल सामग्री खरिद प्रकरणमा पनि पार्टीको धारणा सार्वजनिक भइसकेको बताएका छन् ।  

‘कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन यतिबेला हामी सरकारको साथमा छौँ र हरसम्भव सघाइरहेका छौँ, युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएका छौँ, तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएका छौँ,’ विज्ञप्तिको पहिलो बुँदामा भनिएको छ, ‘तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने कार्य गरेको छ ।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वस्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिदजस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफीयोग्य नरहेको कांग्रेसको ठहर  छ ।ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाही प्रक्रियालाई सघाउन देउवाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले विशेष चनाखो भई कार्य गर्न आवश्यक छ,’ तेस्रो बुँदामा भनिएको छ, ‘अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कारबाही प्रक्रिया अघि बढाउन जरुरी छ ।’

लकडाउनको प्रतिकूल अवस्थाका बाबजुद सञ्चारमाध्यमले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएको उल्लेख गर्दै देउवाले यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद रहेको बताएका छन् ।



काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक रहेको भन्दै उनले यसमा दोषीलाई पनि कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । 

आजको संकटसँग जुध्न नेपाली कांग्रेस निरन्तर सरकारको साथमा रहने उल्लेख गर्दै देउवाले तर कांग्रेस सबैखाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने बताएक छन् । 



  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १४:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया