'आगामी ४ वर्षसम्म कोरोना भाइरस महामारीको खतरा'

एजेन्सी– एक अध्ययनले आगामी ४ वर्षसम्म कोरोना भाइरस महामारीको खतरा रहने देखाएको छ । अमेरिकाको हावार्ड युनिभर्सिटीका शोधकर्ताले गरेको अनुसन्धानमा यो भाइरसको महामारीको खतरा सन् २०२४ सम्म रहेको बताइएको छ । 

हावार्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका पाँच शोधकर्ता यस अनुसन्धानमा खटिएका थिए । उनीहरुले महामारी रोक्न सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्ने अभ्यास जारी राख्नुपर्ने अवस्था आउने बताएका छन् ।

मंगलबार जर्नल साइन्समा प्रकाशित प्रतिवेदनअनुसार सो समयभन्दा अघि नै यसको खोप पत्ता लागेमा, उपचार सम्भव भएमा वा गम्भीर अवस्थाको स्याहार क्षमता बढेको खण्डमा भने सामाजिक दूरीको नियम रहने छैन ।

मानिसमा रोगप्रतिरोधी क्षमताको विकास स्थायी रुपमा नभएको खण्डमा यो भाइरस बारम्बार आइरहने प्रतिवेदनमा उल्लेख छ । स्थायी रुपमा रोगप्रतिरोधी क्षमता विकास भएको खण्डमा भने यो भाइरस लामो समयका लागि हराउनेछ ।

शोधकर्ताहरुले सामाजिक दूरीको नियमले कोरोना भाइरसको संक्रमित घटाउँदै स्वास्थ्य प्रणालीमाथिको दबाब कम गर्ने बताएका छन् ।





  • प्रकाशित मिति : वैशाख ४, २०७७ बिहीबार १८:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया