कोभिड १९ः स्वस्थ्य हुन कति लामो समय लाग्छ ? के यसले पछिसम्म असर गर्छ ?
काेराेनाभाइरसलाई जितेकी नेपाली युवती ।

काठमाडौं– नेपालमा अहिलेसम्म ३० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये २ जना अब ठिक भएर घर फर्किइसकेका छन् । पहिलो पटक चीनबाट नेपाल आएका युवामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । दोस्रो पटक फ्रान्सबाट नेपाल आएकी एक युवतीमा १० चैतमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनी २७ दिन अस्पताल बसेपछि ६ वैशाखमा ठिक भएर अस्पतालबाट घर फर्किएकी छिन् । 

कोभिड १९ पहिलो पटक सन् २०१९ को अन्त्यमा मानिसमा संक्रमण भएको नयाँ भाइस हो । तर, छोटो समयमा नै अहिले विश्वभरका देशमा यो भाइरस फैलिइसकेको छ । अनि विश्वभर यो कोभिड १९ भएका बिरामीहरु पनि विस्तारै ठिक हुँदै अस्पतालबाट घर फर्किएका छन् । 

केहीअघि एक अध्ययनले त ८० प्रतिशत कोभिड १९ का बिरामी आफैं ठिक हुने समेत दाबी गरेको थियो । 

तर, कोरोनाभाइरस संक्रमण भइसकेपछि एक व्यक्तिलाई पूर्ण स्वास्थ्य हुन कति दिन लाग्छ त ?

विश्वभरका उदाहरणहरुलाई हेर्ने हो भने यो फरक फरक छ । कतिपय ठाउँमा केही व्यक्तिहरु १४ दिनमा नै ठिक भएका छन् भने कतिपयलाई दुई महिनासम्म पनि कोभिड १९ लाई जित्न समय लागेको छ ।

यो सब उमेर, लिङ्ग तथा अन्य स्वास्थ्य समस्याहरुबाट निर्धारण हुने विश्वभर गरिएका विभिन्न रिसर्चहरुले दाबी गरेका छन् । अनि यसलाई कुन प्रकारबाट उपचार गराइएको छ भन्ने कुराले पनि निर्धारण गरिएको देखिन्छ ।



विश्वभरका कोरोनाभाइरस संक्रमितलाई हेर्ने हो भने उनीहरुमा कोभिड १९ का मुख्य लक्षणहरु देखिन्छ– खोकी र ज्वरो । र, सँगसँगै ज्यान गल्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्याहरु पनि केहीलाई देखिएको छ । कतिपयले आफूलाई सुख्खा खोकी लागेको बताउने गरेका छन् । अनि विस्तारै खोकीमा फोक्सोका मृत कोषिकाहरु पनि देखिन थालेको बताएका छन् ।

यस्ता लक्षणहरुलाई पूर्ण आराम, पर्याप्त तरल पदार्थको सेवन तथा दुखाइ कम गर्ने औषधी दिएर उपचार गर्ने गरिएको छ । 



अनि जो मानिसहरुलाई मध्यमखालका लक्षणहरु देखिएका छन्, उनीहरु छिटो स्वस्थ्य पनि भएका छन् ।

विश्व स्वास्थ्य संगठनले चिनियाँ कोरोनाभाइरस संक्रमितहरुको डाटालाई केलाउँदै ज्वरो एक सातामा ठिक हुने र खोकी दुई सातासम्म लम्बिन सक्ने एक रिपोर्ट निकालेको छ । 

तर, कोभिड १९ केही व्यक्तिहरुका लागि यो निकै कष्टकर पनि हुनसक्छ । 

संक्रमण भएको ७ देखि १० दिनमा यसले निकै समस्या बनाउन सक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनकी साराह जार्भिसले भनेकी छिन्, ‘सास फेर्न गाह्रो यति धेरै हुने देखिएको छ, शरीरमा पूरै आगो लागेजस्तो अनुभव पनि हुनसक्छ ।’

यस्तो अवस्थामा कोभिड १९ बाट पूर्णतया ठिक हुन आठ सातासम्म लाग्ने र शरीरको थकान अझ लामो समयसम्म रहन सक्ने उनले बताएकी छिन् ।

विश्व स्वास्थ्य संगठनले २० जनामा एकलाई चाहिँ सघन उपचारको आवश्यकता नै रहेको देखिएको पनि बताएको छ ।

पछिल्लो समय विश्वभर अर्को पनि प्रश्न उठ्न थालेको छ । प्रश्न हो– के कोभिड १९ भएका व्यक्तिहरुलाई दीर्घकालीन रुपमा स्वास्थ्यमा समस्या देखिन्छ ? 

यसको जवाफ अहिलेसम्म पाइएको छैन । किनकि यो रोग वा भाइरस मानिसमा संक्रमण हुन थालेको नै लामो समय भएको छैन । 

  • प्रकाशित मिति : वैशाख ६, २०७७ शनिबार १७:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया