ठिक भइसकेका संक्रमितमा फेरि देखियो कोभिड १९, कति खतरा ?

दक्षिण कोरियाले कोरोनाभाइरस संक्रमण रोक्नका लागि जे गरेको थियो, त्यसले विश्वको वाहवाही मात्र पाएनन्, उसको सिको अन्य देशहरुले पनि गरे । 

तर, अहिले फेरि दक्षिण कोरिया अन्तर्राष्ट्रिय मिडियाहरुको चर्चामा आएको छ । र, यसको कारण हो, त्यहाँ एकपटक कोरोनाभाइरस संक्रमण ठिक भइसकेका व्यक्तिमा फेरि यो भाइरस देखिएको छ । त्यो पनि एकै दिन १ सय ६३ जनामा  ।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो अहिलेका लागि एउटा रहस्य नै रहेको छ ।

कोरियामात्र होइन, चीनमा पनि यही समस्या देखिन थालिएको छ । त्यहाँ पनि कोभिड १९ ठिक भइसकेका केही व्यक्तिमा फेरि कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिन थालिएको छ । तर, कति जनामा ? चीनले यो तथ्यांक बाहिर ल्याइसकेको छैन । 

तर, यसले प्रश्न जन्माएको छ– के एकपटक ठिक भइसकेका कोरोनाभाइरस संक्रमितलाई फेरि संक्रमण हुन्छ ?

दक्षिण कोरियाको तथ्यांकलाई हेर्ने हो भने पुनः कोरोनाभाइरस संक्रमित भएकाहरुको संख्या निकै कम देखिएको छ । त्यहाँ अहिलेसम्म ७ हजार ८ सय २९ जना पूर्ण ठिक भइसकेका भनिएको थियो । तर, २.१ प्रतिशतमा फेरि कोरोना भाइरस देखिएको छ । शुक्रबार त्यहाँका अधिकारीले दिएको यो जानकारीका कारण अहिले फेरि दक्षिण कोरियामा चिन्ताको विषय थपिएको छ । तर, यस्तो किन र कसरी भयो ?



कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका सहायक निर्देशक क्वोन जुन वुकका अनुसार फेरि कोभिड १९ पोजेटिभ देखिएका बिरामीमा चाहिँ लक्षण खासै देखिएका छैनन् । उनीहरुले केही साधरण लक्षण चाहिँ देखाएका थिए । ४४ प्रतिशत बिरामीमा मात्र त्यस्ता लक्षण देखिएको उनले बताएका छन् । 

‘पछिल्ला दशकमा हामीले भोगेका निकै खतरानक भाइरस हो, कोरोनाभाइरस,’ उनले भनेका छन्, ‘यसले सबैलाई चुनौति पेश गरेको छ ।’



कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले अब यसबारे थप विस्तृत अध्ययन गर्ने भएको छ ।

तर, अहिलेसम्म यसरी दोस्रो पटक दोहोरिएर एकै व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिँदा उसले थप अन्यलाई संक्रमण नगर्ने उनीहरुको हालसम्मको अध्ययनले देखाएको छ ।

  • प्रकाशित मिति : वैशाख ६, २०७७ शनिबार २२:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया