दक्षिण कोरियाले भन्यो– किमलाई केही भएको छैन, किन चल्यो उनी बिरामी भएको हल्ला ?

एजेन्सी– उत्तर कोरियाली नेता किम जङ–उन गम्भीर बिरामी भएको भन्दै फैलिएका समाचारलाई दक्षिण कोरियाले खारेज गर्दै अफवाहको संज्ञा दिएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले यी सब हल्ला भएको बताएका हुन् । 

यसअघि किम गम्भीर बिरामी भएको, ब्रेन डेड भएको, अपरेसन सकिएर आराम गर्दै गरेको र मुटुको शल्यक्रिया भएको जस्ता समाचार छापिएका थिए । तर, यी समाचारको पुष्टि हुन नसकेको दक्षिण कोरियाली अधिकारीले जनाएका हुन् ।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले उत्तरबाट यस्तो कुनै संकेत नआएको जनाएको छ ।

बिर्सनु हुँदैन, किम गम्भीर बिरामी भएको यस्तो समाचार आएको यो पहिलो पटक चाहिँ होइन ।

तर, यसपटक यो हल्ला चल्दा यसलाई निकै सपोर्ट गर्ने तर्कहरु थिए । किनकि किम हजुरबुबाको जन्मदिनको अवसरमा आयोजना हुँदै आएको उत्तर कोरियाको राष्ट्रिय दिवस १५ अप्रिलमा कुनै कार्यक्रममा देखिएका थिएनन् । किमले यो कार्यक्रम कुनै वर्ष छुटाएका थिएनन् । त्यसैले यसपटक उनी सहभागी नहुँदा यस्ता समाचार फैलिन सहयोग पुग्यो ।



किम पछिल्लो पटक १२ अप्रिलमा त्यहाँको राष्ट्रिय सन्चारमाध्यममा देखिएका थिए । त्यति बेला उनी उनको अनुहारमा बिरामीको छनकसमेत नदेखिएको अब अन्तर्राष्ट्रिय मिडियाले लेख्न थालेका छन् ।

तर, गत साता भएका विभिन्न मिसाइल परीक्षण कार्यक्रमहरुमा पनि किमको उपस्थिति देखिएन । उनी यस्ता कार्यक्रमहरुमा जाने गरेको तस्वीरहरु यसअघि छापिने गरेका थिए ।



यसपटक किमको स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार पहिलो पटक उत्तर कोरियाबाट देश निकाला गरिएका व्यक्तिहरुबाट चलाइएको डेली एनके समाचार पोर्टलमा छापिएको थियो । समाचार पोर्टलमा स्रोतको हवाला दिँदै किम गम्भीर बिरामी भएको प्रकाशन गरिएको थियो । र, यो समस्या गत अगस्टबाट नै सुरु भएको त्यसमा उल्लेख गरिएको थियो । 

यही समाचार पोर्टलबाट नै संसारभरका सन्चारमाध्यमले समाचार लेखेका थिए । कतिसम्म भने यही आधारमा सन्चारमाध्यमहरुमा अमेरिकाले यसको निगरानी गर्न थालेको समेत छापिन थाल्यो । 

तर, अब दक्षिण कोरियाली अधिकारीहरुले चिनियाँ अधिकारीको पनि हवाला दिँदै समाचार एजेन्सीहरुलाई यो झुट भएको बताएका छन् । 

त्यसो त सन् २०१४ मा किम ४० दिन हराउँदा पनि उनी गम्भीर बिरामी भएको वा कुनै राजनीतिक कू भएको बताइएको थियो । तर, उनी पछि फेरि सन्चारमाध्यममा देखिन थालेका थिए । 

  • प्रकाशित मिति : वैशाख ९, २०७७ मंगलबार १४:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया