काेराेनाबाट मृत भएकी महिलाकाे सम्पर्कमा आएका ५३ जनामा काेराेना परीक्षण नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका गाउँलेको थ्रोट स्वाब परीक्षण रिपोर्ट आउन थालेको छ । मंगलबार ५३ जनाको रिपोर्ट आएकोमा उनीहरुलाई कोरोना संक्रमण देखिएन ।

‘रिपोर्ट आउन थाल्यो । ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ,’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भनेका छन् । उनका अनुसार राष्ट्रिय जनप्रयोगशाला टेकुमा मृतकका सम्पर्कमा रहेका स्थानीयको थ्रोट स्वाब परीक्षण गरिएको हो ।

आइतबार ५६ जनाको स्वाब संकलन गरी पठाइएकोमा तीनको मात्र रिपोर्ट आएन । पुनः परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको प्रजिअ ढकालले जनाएका छन् ।  

मृतकलाई बोक्ने एम्बुलेन्स चालकदेखि, उनको उपचारमा खटिने स्वास्थ्यकर्मी, आफन्त, छिमेकी र स्थानीयसम्म एक सय ९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । अझै एक सय ४४ को रिपोर्ट आउन बाँकी छ ।

बुधबारसम्म सबैको रिपोर्ट आउन सक्ने प्रजिअ ढकालले बताए । यसअघि नै मृतक महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका उनका नबजात शिशु, श्रीमान्, आमा, भाइ र बहिनीको रिपोर्ट नेगेटिभ आइसकेको छ ।  

महिलाले ज्यान गुमाएको धुलिखेल अस्पतालमा उनीहरु थ्रोट स्वाब परीक्षण गरिएको थियो । धुलिखेल अस्पतालमा बिहीबार ज्यान गुमाएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोना भाइरसको कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको थियो । मृत्यु हुँदा महिला १० दिनको सुत्केरी थिइन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १७:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया