दोस्रो विश्वयुद्ध बाँचेको हिटलरको भनिएको गोही स्याटर्नको निधन

दोस्रो विश्वयुद्ध बाँचेको बर्लिनको एउटा गोहीको निधन भएको छ । यसअघि यो गोहीलाई नाजी नेता एडोल्फ हिटलरको गोही भएका पनि भनिन्थ्यो । तर, यो झुटो रहेको पछि पत्ता लागेको थियो । यो गोहीको शुक्रबार विहान मस्कोको चिडियाघरमा निधन भएको हो ।

यो गोहीलाई स्याटर्न नाम दिइएको थियो । मिसिसिपी गोही पनि भनेर चिनिने स्याटर्न ८४ वर्षको थियो ।

सन् १९३६ मा अमेरिकामा जन्मिएको यो गोही जर्मनीलाई उपहारमा त्यही वर्ष दिइएको थियो । तर, सन् १९४३ मा दोस्रो विश्वयुद्धमा बर्लिनको चिडियाघरमा बम विस्फोट हुँदा यो गोही त्यहाँबाट बचेर भागेको थियो ।

यसलाई बेलायती सेनाहरूले ३ वर्षपछि पाएका थिए । बेलायती सेनाले यो गोहीलाई तत्कालिन सोभियत युनियनलाई दिएका थिए । 

यी तीन वर्ष यो गोही कहाँ र कसरी बाँचेको थियो भन्ने अहिले पनि रहस्यमा नै रहेको छ । तर, सन् १९४६ को जुलाई देखि मस्कोमा पुग्ने जो कोहीले पनि चिडियाघरमा गएर यो गोहीलाई हेर्ने गरेका थिए ।

‘मस्को जुले स्याटर्नलाई ७४ वर्ष राख्न पाउँदा गर्व गर्छ,’ चिडियाघरले गोहीको निधन पछि निकालेको वक्तव्यमा भनेको छ ।



‘हाम्रा लागि स्याटर्न एउटा पूरै इतिहास हो, हामीले उसलाई यो समयमा दुखी बनाएनौँ भन्ने लाग्छ,’ विज्ञप्तिमा भनिएको छ ।

चिडियाघरले स्याटर्नले चिडियाघरमा उसको रेखदेखमा भएकाहरुलाई चिन्ने गरेको पनि उल्लेख गरेको छ ।



स्याटर्नलाई केहीले विश्वमा बाँचेको सबैभन्दा बुढो गोही पनि मान्छन् । तर, सर्बियाको चिडियाघरमा भएको अर्को गोही पनि अहिले ८० वर्षमा हिँडिरहेको भएकाले यी दुईमा कुन जेठो हो भन्ने निष्कर्ष निकालिएको छैन । जे होस्, औसत ३० देखि ५० वर्षसम्म बाँच्ने मिसिसिपीका गोहीमा स्याटर्न चाहिँ धेरै वर्ष बाँचेर एउटा इतिहास आफूसँग ल्याएको विश्वास धेरैले गर्ने गरेका छन् ।

यो गोही किन पनि चर्चामा आएको थियो भने यसलाई हिटलरको व्यक्तिगत कलेक्सनको गोही भन्ने समाचार एकपटक व्यापक प्रकशनमा आएको थियो । तर, पछि यो असत्य प्रमाणित भयो । यो हल्ला कसरी चल्यो भन्ने पनि कसनै आधार भेटिएको छैन ।

तर, के चाहिँ रहस्या हो भने यो गोहीले सन् १९४३ मा बर्लिनमा भएको बमबारीलाई छलेर बाँचेको थियो । सन् १९४३ मा नाजी जर्मनीको राजधानी बर्लिनमा निकै धेरै बमबारी भएको थियो । सन् १९४३ को नोभेम्बरबाट सुरु भएको बमबारीमा २२–२३ नोेभेम्बरमा अत्यधिक बमबारी भएको थियो । यही रात स्याटर्न रहेको चिडियाघर पनि ध्वस्त भएको थियो ।

त्यो रात त्यहाँ हजारौँ मानिस मारिएका थिए । र, चिडियघरमा भएका सयौँ जनावर पनि हराएका थिए । 

तर, स्याटर्नले त्यही युद्धले ध्वस्त भएको सहरमा आफ्ना तीन वर्ष बिताएको थियो । त्यही सहर जुन गोहीहरूका लागि राम्रो वातावरण भएको सहर पनि होइन । 

अब स्याटर्नलाई मस्कोमा रहेको एक म्युजियममा राखिने तयारी भएको छ । यो म्युजियम त्यहाँ वैज्ञानिक चाल्र्स डार्विनको नाममा राखिएको म्युजियम हो ।

– एजेन्सी

  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया