बैतडीमा मात्र ४ हजार क्वारेन्टाइनमा

भारतबाट फर्केका चार हजार १ सय ७२ जना क्वारेन्टिनमा बसेका छन् । बैतडीका १० वटै स्थानीय तहले विभिन्न वडामा बनाएका क्वारेन्टिनमा बसेका हुन् । 

कोरोना भाइरसको संक्रमणले रोजगारीको लागि भारत गएका स्थानीय गाउँ फर्केने क्रम दिनप्रतिदिन बढदै गएको छ । भारतमा लकडाउन खुकुलो भएपछि रोजगारीको लागि भारतमा रहेका यहाँका नागरिक धमाधम फर्किन थालेका छन् । लकडाउनले रोजगारी गुमाएका  वा समस्यामा परेका नागरिक घर फर्कदा सीमामा अलपत्र पर्न थालेपछि नेपाल र भारत सरकारको समन्वयमा स्वदेश भित्र्याउन थालिएको हो ।

भारत लगायत अन्यत्रबाट आएका नागरिकलाई कोरोना संक्रमणको जोखिम कम गर्न १४ दिन क्वारेन्टिनमा राखेर पिसिआर र आरडिटी परीक्षण गरेर घर पठाउने गरिएको छ । शुक्रबार बेलुकासम्म शिवनाथ गाउँपालिकामा ८ सय ५८ जना, मेलौली नगरपालिकामा ७ सय १६, पञ्चेश्वर गाउँपालिकामा ६ सय ४६ जना क्वारेन्टिनमा बसेका छन् । यस्तै पाटन नगरपालिकामा ३ सय ५४, दोगडाकेदार गाउँपालिकामा ३ सय २९, पुर्चौडी नगरपालिकामा ३ सय २८, दशरथचन्द नगरपालिकामा २ सय ९७, सिगास गाउँपालिकामा २ सय ४१, सुर्नया गाउँपालिकामा २ सय ८४, र डिलासैनी गाउँपालिकामा १ सय १६ जना क्वारेन्टिनमा रहेका छन् ।

क्वारेन्टिनमा बसेकाहरुलाई सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्र्याएको हो । सीमानाकामा समान्य स्वास्थ्य जाँच गरेर विभिन्न स्थानका विद्यालय वा खाली भवनमा क्वारेन्टिन बनाएर राखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवन जोशीले जानकारी दिए ।

१४ दिन अनिवार्य क्वारेन्टिनमा बसेपछि उनीहरुको कोरोना परीक्षण हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । भारतबाट आएका बैतडीका ५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । उनीहरुमध्ये एक जना जिल्ला अस्पताल बैतडीमा र ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

क्वारेन्टिनमा बसेकाहरुको परीक्षणका लागि जिल्लामा किट अभाव भएको छ । हाल जिल्लामा ८ सय ७४ आरडिटी किट र भिटिएम ४ सय १५ मात्र मौज्दात रहेको छ । थप आवश्यक किटको लागि प्रदेश सरकारसँग माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टिनमा बसेका अधिकांशको आरडिटी परीक्षण गर्ने गरिएको छ । आरडिटी परीक्षणमा शंका लागे वा कोरोना भाइरसको लक्षण देखिए मात्र पिसिआर गर्ने गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बशन्तराज जाशीले बताए ।  





  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार २२:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया