प्रधानमन्त्रीको जवाफबारे गगन– प्रधानमन्त्रीले दिने जवाफ यस्तै त हाे नि 'ब्राे' !

बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनपछि नेपाली काङ्ग्रेसका सांसद गगन थापाले प्रश्न गरे– प्रधानमन्त्रीज्यू, तपाईंलाई कसले भन्यो, नेपालीको प्रतिरोधात्मक क्षमता बढी छ ?

यसमा प्रधानमन्त्री ओलीको स्पष्ट जवाफ थियो– मैले ।

प्रधानमन्त्रीले यो शब्द र यससँग जोडेर ‘तपाईंले सुन्नुभएन’ भन्ने दुई शब्द के भनेका थिए, संसदमा हाँसोको फोहोरा छुट्यो । मानौँ, संसदमा कुनै सर्कस जारी गरिएको छ, सांसदहरुले एकअर्काको मुख हेर्न थाले र हाँसो निकाले । 

प्रधानमन्त्रीको यो जवाफ गैरजिम्मेवार भएको भन्दै सामाजिक सन्जालमा व्यापक विरोध भइरहेको छ । र, यसबारे सामाजिक सन्जालमा संसदबाटै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा ट्विट गरेका थिए । उनले ट्विटमा लेखेका थिए– प्रधानमन्त्री केपी शर्मा ओलीको सबेभन्दा ठूलो रोग डनिङ क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) नै देखियो ।

‘यो हिजोको संसदमा प्रमाणित पनि भयो,’ प्रधानमन्त्रीबाट गैरजिम्मेवार, हास्यास्पद र उट्पट्याङ जवाफ पाएका कांग्रेस नेता गगन थापाले बिहीबार विहान फरकधारसँग भने, ‘मैले यसअघि नै प्रधानमन्त्रीज्यूलाई यस्तो समस्या छ भनेर भनेको थिएँ ।’

डा. भट्टराई र थापाले प्रधानमन्त्रीमाथि लगाएको यो रोग खासमा के हो त ? 
 



डनिङ क्रुगर इफेक्ट भनेको खासमा साइकोलोजीसँग सम्बन्धित रोग हो । यसमा मानिसले आफ्नो अर्कमण्यतालाई बिर्सिएर र आफ्नो अक्षमतालाई भुलाउन भ्रमपूर्ण अभिव्यक्ति दिने गरेको पाइन्छ । सन् १९९९ मा कर्नेल विश्वविद्यालयका मनोविद् डेभिड डनिङ र जस्टिन क्रुगरले यो कन्सेप्टलाई प्रतिपादन गरेका हुन् । यी दुई जनाले त्यति बेला केही व्यक्तिहरुमाथि परीक्षण गरेका थिए । अनि उनीहरुले पाएका थिए– क्षमता नभएकाहरुले पनि आफूलाई औसतभन्दा राम्रो स्तरमा राखेका थिए । उनीहरुको पेपर अनुसार १२ प्रतिशत काम गर्ने क्षमता भएकाहरुले आफूलाई ६२ प्रतिशत काम गर्न सक्ने क्षमता भएको व्यक्तिसँग तुलना गरेका थिए ।

अहिले कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा सरकार असफल भइरहेको र गर्नु पर्ने जति काम नगरिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपालीको प्रतिरोधात्मक क्षमताबारे दिएको टिप्पणीलाई लिएर यही समस्या उनमा देखिएको डा. भट्टराईको मात्र होइन, थापाको पनि आरोप छ ।



तर, के थापाले प्रधानमन्त्रीको जवाफमा चित्त बुझाएका छन् त ? 

बिहीबार विहान फरकधारको यो प्रश्नमा थापाले भने, ‘प्रधानमन्त्रीपछि मेरो बोल्ने पालो थिएन, त्यसैले मैले त्यसको जवाफ दिन पाइनँ । प्रधानमन्त्रीको जवाफको जवाफ पनि म संसदमा नै दिनेछु ।’

थापाले थपे, ‘खासमा हाम्रो प्रधानमन्त्रीलाई कोरोनाभाइरसबारे धेरै कुरा नै थाहा छैन । एकातिर विश्व स्वास्थ्य संगठनले कोरोनाको जोखिम बढिरहेको बताएर सचेत गराइरहेको छ, अर्कोतिर संसदमा उभिएर प्रधानमन्त्री ओलीले गैरजिम्मेवार तर्क दिइरहेका छन् ।’

थापालाई जति प्रधानमन्त्री ओलीको जवाफले विस्मयमा पारेको छ, त्योभन्दा बढी सत्तारुढ नेकपाका नेताहरुले संसदमा टेबल ठटाएकाले उनी अचम्ममा परेका छन् । बुधबार दिउँसो प्रधानमन्त्री ओलीले थापाका प्रश्नको जवाफ दिन सुरु गरेपछि नेकपा सांसदहरुले उनको जवाफमा हाँस्दै टेबल ठटाएका थिए । 

‘यो ठूलो विडम्बना हो,’ थापालाई लागेको छ, ‘प्रधानमन्त्रीको तर्क झुटो हो भन्ने थाहा हुँदाहुँदै, त्यसमा स्पष्ट हुँदाहुँदै उहाँहरुले ताली बजाउनु भएको छ । यो उहाँहरुको बाध्यता होला, तर सधैं यसरी चल्न सकिँदैन ।’

अब त झन् यसमा गगन थापा अझ बढी विश्वस्त भएका छन् कि प्रधानमन्त्रीले कोरोनाबारे गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । नहुन् पनि किन, हिजो संसद बैठकबाट बाहिरिएपछि थापालाई नेकपाकै नेताहरुले फोन गरे, बधाई दिए र प्रधानमन्त्रीको आलोचना गरे ।

‘सदनमै भेट हुँदा केही नेकपा नेताले मेरो कुरामा समर्थन गर्नु भएको थियो,’ थापाले भने, ‘पछि केही नेकपाकै नेताले पनि फोन गरेर भन्नुभयो– तपाईंको प्रश्न ठिक थियो ।’

सामाजिक सन्जालमा प्रधानमन्त्रीको जवाफको विरोध व्यापक भइरहेको छ । तर, प्रश्न गर्ने थापालाई चाहिँ प्रधानमन्त्रीको यस्तो जवाफ आउँछ भन्ने अनुमान थियो ।

‘मलाई प्रधानमन्त्री ओलीको यो जवाफ सुन्दा त्यस्तो नौलो लागेन,’ थापाले भने, ‘प्रधानमन्त्रीले सधैं दिने जवाफ यस्तै त हो नि !’

अनि फेरि थापाले जोडे, ‘प्रधानमन्त्रीमा आफूले मात्रै जानेसुनेको छु र मैले भनेको नै ठिक हो भन्ने बानी छ । त्यसैले यस्तै जवाफ आउँछ भन्ने मैले अनुमान गरेकै थिएँ ।’

  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १०:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया