जग्गा कित्ताकाट खुलाउन सरकारलाई सुझाव
कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सरकारको निर्णयले भष्टाचार बढेको अख्तियारको ठहर


हाल भइरहेको कित्ताकाट रोक्का गर्ने निर्णयमा आवश्यक पुनरावलोकन गरी कित्ताकाट खुल्ला गर्ने व्यवस्था मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ । 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने निर्णयमा जग्गा कित्ता काटको सम्बन्धमा समस्या र जटिलता देखा परेको भन्दै आयोगले उक्त सुझाव दिएको हो ।
 आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले गरेको उक्त निर्णयले जटिलता र समस्या देखापरेको बताइएको छ । 
विज्ञप्तिमा कृषि क्षेत्रको वर्गीकरण गर्नका लागि गठित प्राविधिक समितिको काम कारबाही विवादित बनेको उल्लेख छ । 
यसैगरी मन्त्रालयको निर्णयमा एक आर्थिक वर्षमा एउटा कित्ता एकपटक मात्र कित्ताकाट गर्न पाउने व्यवस्था रहे पनि सो बारेमा सर्वसाधारणलाई सम्बन्धित निकायबाट सुसूचित गराउने कार्य नदेखिएको र पुख्र्यौली घरजग्गा विक्री वितरणमा समेत कित्ताकाट रोक्का रहेको बहाना बनाएर हैरानी दिने तथा नियमानुसार कित्ताकाट गर्न मिल्ने जग्गाको सम्बन्धमा समेत आर्थिक अनियमितता हुने गरेको देखिएको विज्ञप्तिमा उल्लेख  छ । 
 आयोगले यो निर्णयले उही अंशियारहरूले पटक पटक अंशवण्डा गर्ने गरेका उजूरी तथा गुनासासमेत आयोग समक्ष आउने गरेको र एउटै परिवारका सदस्यहरु बीचमा जग्गा कित्ताकाट गर्नकै लागि समेत नक्कली अंशवण्डा र भर्पाइ गर्ने गरेको देखिँदा पारिवारिक विखण्डन, कलह आई सामाजिक विकृति पैदा हुनसक्ने देखिएको जनाएको छ । 
यसबाट अड्डा अदालतमा नक्कली र बनावटी मुद्दा मामिला खडा गरी मिलापत्रको नाममा समेत कित्ताकाट गर्ने प्रवृत्ति मौलाएको बताउँदै  आयोगले अदालतमा अनावश्यक मुद्दा मामिलाको अत्यधिक चाप पर्न सक्ने जनाएको छ । 
मन्त्रालयको निर्णयले एकातर्फ कृषियोग्य जग्गाको खण्डीकरण नरोकिएको, अर्कोतर्फ अत्यावश्यक अवस्थामा समेत जग्गाको कित्ताकाट गर्न सर्वसाधारणले लाखौं रकम गैरकानूनी कमिसनको रुपमा बुझाउनु परेकाले नापी तथा मालपोत कार्यालयमा भ्रष्टाचार झनै मौलाएको भन्ने उजुरीहरू आयोगमा पटकपटक आउने गरेको उल्लेख गरेको छ । 
कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धको यसअघिको मन्त्रालयको निर्णयको उद्देश्य अनुरुपको प्रभावकारिता नदेखिई झनै जटिलता र अनियमितताले प्रश्रय पाएको बताउँदै आयोगले सर्वसाधारणले हैरानी पाउने गरेको तथा सर्वोच्च अदालतको २ फागुन २०७४ को आदेश पूर्णरुपमा कार्यान्वयन भएको नदेखिएको जनाएको छ । 
धेरैअघि गरिएको साविक नापी र पुनः नापी बमोजिम तयार गरिएका क्षेत्रीय किताबमा उल्लिखित जग्गाको किसिम र वर्गका आधारमा नै जग्गाको वर्गीकरण गरी कित्ताकाट रोक्ने वा खोल्ने सम्बन्धमा निर्णय हुनु औचित्य पूर्ण र वैज्ञानिकसमेत नहुने ठहर आयोगको छ । 
आयोगले मन्त्रालयबाट भएका निर्णयबाट समस्याहरू सिर्जना भएकाले सोको निराकरणका लागि कित्ताकाट रोक्का गरी खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा भए–गरेका निर्णयहरूमा आवश्यक पुनरावलोकन गरी कित्ताकाट खुल्ला गर्नेतर्फ आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको हो ।
यो व्यवस्थाबाट सर्वसाधारणले पाउँदै आएको हैरानी कम हुने र कित्ता काटका नाममा हुने गैरकानुनी लेनदेनसमेत रोकिने आयोगको विश्वास छ ।   


 





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार १५:०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया