काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ नभनेको स्पष्ट पारेका छन् ।
उपाध्यक्ष गौतमले भारतसँगको सीमा विवाद कूटनीतिक वार्ताका माध्यमबाट सुल्झाउनपर्ने उल्लेख गर्दै सरकार र जनता सीमा विवादको समाधान कुटनीतिक विधिबाट गर्न दृढ रहेको बताएका छन् ।
चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नु अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति भएको र आफूले यस्तो भन्दैनभनेको उनले जिकिर गरेका छन् । केही सञ्चारमाध्यमले गौतमले भारतसँग लड्न चीनसँग सहयोग लिनुपर्ने भनेको भन्दै समाचार प्रकशित भएको थिए ।
ती समाचारको खण्डन गर्दै उनले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा हरदम राष्ट्र र राष्ट्रियताका मुद्दामा आफूलाई स्पष्ट रुममा प्रस्तुत गर्दै आएको, विगतमा भएको असमान महाकाली सन्धि, कालापानी, लिपुलेक, लिम्पियाधुरामा भूमि अतिक्रमित भएको सन्दर्भलगायत विषयमा सधैँ स्पष्टताका साथ लागिरहेको दाबी गरे ।
‘हामी हाम्रो भूमि रक्षाका निम्ति जस्तै कठिन संघर्ष र बलिदानी भूमिका निभाउन तयार छौँ,’ उनले भनेका छन्, ‘तर, सीमा मामिला सुल्झाउने अनेकन मार्ग प्रशस्त हुँदाहुँदै अहिल्यै फौजी विधिबाट अगाडि बढ्ने विषय आउन सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।