यस्तो छ मेसीको ७०० गोलको यात्रा

बार्सिलोनाका कप्तान लियोनल मेसीले स्पेनिस ला–लिगा फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिडविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै आफ्नो करिअरको ७०० औं गोल पूरा गरेका छन् ।

६–६ पटक बालोन डि’ओर र युरोपियन गोल्डेन सुज तथा एउटा फिफा गोल्डेन बललगायत थुप्रै व्यक्तिगत उपाधि जितेका मेसीले ८६२ खेल खेल्दै ७०० गोल पूरा गरेका हुन् । ३३ वर्षीय मेसीको ७०० गोल सम्मको यात्रा यस्तो छ (फोटो फिचरसहित) :

अर्जेन्टिनाका लागि ७० गोल

अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका कप्तान रहेका मेसीले सिनियर टिमका लागि कुनै पनि अन्तराष्ट्रिय उपाधि जितेका छैनन् । यद्यपि, उनले एक विश्वकप र तीन कोपा अमेरिकाको फाइनल खेलेका छन् । यसबीच, उनले देशका लागि १३८ खेलमा ६ ह्याट्रिकसहित ७० गोल गरेका छन् ।

सन् २००५ मा हङ्गेरीविरुद्ध सिनियर टोलीमा डेब्यु गरेका मेसीले २००६ मा क्रोएसियाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

मेसीले सन् २००६ को विश्वकपमा सर्बिया एन्ड मन्टेनेग्रोविरुद्ध १८ वर्ष ३५७ दिनको उमेरमा गोल गर्दै अर्जेन्टिनाका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।



मेसीले  अर्जेन्टिनाका लागि ४ वटा विश्वकपमा ६, कोपा अमेरिकामा ८, विश्वकप छनोटमा २१ तथा अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा ३५ गोल गरेका छन् ।

मेसीले उमेर समुहमा भने अर्जेन्टिनाका लागि २००८ को ओलम्पिक स्वर्ण पदक तथा २००५ को फिफा वल्र्ड युथ च्याम्पियनसिपको उपाधि जितेका थिए ।



बार्सिलोनाबाट ६३० गोल

मेसी ‘वान क्लब म्यान’ हुन् । हालसम्म उनले बार्सिलोनाबाट मात्र खेलेका छन् । उनले बार्सिलोनाका लागि सबैखाले उपाधि हात पारेका छन् । यसबीच, क्लबका लागि उनले ७२४ खेलमा ४८ ह्याट्रिकसहित ६३० गोल गरेका छन् ।

सन् २००४ मा स्पानियोलविरुद्ध खेल्दै मेसीले बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए भने पहिलो गोल २००५ मा अल्बासेटाविरुद्ध गरेका थिए ।
मेसीले बार्सिलोनाका लागि ला–लिगामा ४४१, च्याम्पियन्स लिगमा १२२ तथा अन्य खेलमा ६७ गोल गरेका छन् ।

मेसीले बार्सिलोनाकालागि १० ला–लिगा, ४ च्याम्पियन्स लिग, ६ कोपा डेल रेसँगै अन्य १४ प्रतियोगिता गरेर कुल ३४ उपाधि जितेका छन् ।

मेसी ७०० करियर गोल पूरा गर्ने सातौं खेलाडी

मेसी ७०० गोल पूरा गर्ने विश्वकै सातौं खेलाडी बनेका छन् । वर्तमान समयमा सक्रिय खेलाडीमा भने मेसी क्रिस्टियानो रोनाल्डोपछि दोस्रो हुन् । यस्तो छ फुटबलमा ७०० गोल पूरा गर्ने खेलाडीको सूचि :

१. जोसेफ बिकान (अष्ट्रिया) –८०५ गोल 
२. रोमारियो (ब्राजिल) –७७२ गोल
३. पेले (ब्राजिल) –७६७ गोल
४. फ्रेन्च पुस्कास (हङ्गेरी) –७४६ गोल
५. गर्ड मुलर (जर्मन) –७३५ गोल 
६. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) –७२८ गोल 
७. लियोनल मेसी (अर्जेन्टिना) –७०० गोल ।
 

  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार ८:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया