नेकपा विवादबारे विश्लेषक आचार्य भन्छन्, ‘प्रचण्ड आफैं थाङ्नामा सुत्न पुगेका छन्’

कोरोनाभाइरस महामारी, बाढी पहिरो, सलह किराको सास्तीलगायत देशमा अनगिन्ती समस्या भएका बेला तिनको बेवास्ता गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने आन्तरिक शक्ति संघर्ष र विवादमा चुर्लुम्म डुब्यो ।

हुन त नकपाभित्रको विवाद बिस्तारै सामसुम हुँदै गएको छ भनिएको छ । तर, यो विवाद ‘विनविन’को अवस्थामा सामसुम भएको नभएर नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षमता कमजोर भएकाले तत्काललाई थामथुम पारिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।

प्रचण्डले सरकार ढाल्न भरपुर प्रयास गरेको तर केही नलागेपछि थाकेर विवाद मत्थर भएकोे जस्तो नाटक गरेको आचार्यको बुझाइ छ ।

‘पुष्पकमल दाहालले झलनाथ खनाल र माधव नेपाललाई साथमा लिएर सरकार ढाल्न भर मजदुर प्रयास गरेका हुन् । तर, उनले सकेनन्’ फरक धारसँग कुरा गर्दै उनले भने, ‘तत्काललाई उनी थाङ्नामा सुत्न पुगेका छन् त्यही भएर चितवनतिर डुल्न गएका वेला विवाद मत्थर भएको अभिव्यक्ति दिएका हुन् ।’

पछिल्लो समयमा प्रचण्डको राजनीतिक क्षमता कमजोर भएको र अब उनी पुनः पहिलेको अवस्थामा आउन नसक्ने विश्लेषक आचार्यको दाबी छ ।

‘ओली सरकार ढाल्न नसक्नुले दाहालको राजनीतिक क्षमता कमजोर भएको पुष्टि हुन्छ । उहाँको अवस्था सामान्यभन्दा सामान्य भएको छ’, उनी थप्छन्, ‘अब कसैले कृपा गरेर उहाँलाई सत्तामा पुर्याए बेग्लै कुरा नत्र आफ्नै शक्तिले पुग्न गाह्रो छ ।’



नेकपा फुट्न र ओली सरकार ढाल्न नदिन चिनियाँ राजदूत सकृय भएको थाहा पाउँदा पाउँदै प्रचण्डले पार्टी फुटाउन र सरकार ढाल्न जोड गरेको तर असफल प्रयास गरेका कारण आफैं थाङ्नामा सुत्नुपरेको विश्लेषक आचार्य बताउँछन् ।

‘पहिले पनि चीनले पार्टी फुटाउन नदिएको जान्दा जान्दै नबुझेर हो कि पुष्पकमल दाहाल पार्टी फुटाउँछु भन्दै लागिपरे’, उनी भन्छन्, ‘चीनले दिँदैन भन्ने जान्दा जान्दै फेरि जोरी खोज्नु उनको अदूरदर्शिता हो ।’



नेकपा विवादमा चीन र कांग्रेस आफैं मुछिएका हुन् कि मुछ्न बाध्य पारिएको हो ? भन्ने प्रश्नमा विश्लेषक आचार्यले नेपालमा पछिल्लो समयमा चीनको प्रभाव बढ्दै गएकाले उसँगको नेकपाको सम्बन्ध दोहोरो भएको बताए ।

‘चीनले नेकपासँग सहकार्यको हात अघि बढाएको छ’, उनी भन्छन्, ‘यसैको परिणामस्वरुप उसले नेकपालाई फुट्नबाट बचाइरहेको छ ।’

तर, नेकपाको आन्तरिक मामिलामा कांग्रेस मुछिनुमा भने प्रधानमन्त्री केपी शर्मा ओली आफैं दोषी रहेको विश्लेषक आचार्यको दाबी छ ।

‘माओवादीसँग सहकार्य गर्न सकिँदैन भनेर ओलीले देउवा (शेरबहादुर)लाई पहिले नै भनिसकेको कांग्रेसका धेरै नेतालाई थाहा छ’, उनी भन्छन्, ‘तत्कालिन अवस्थामा कांग्रेसले सरकारमा जान हतार नगरेर मात्रै हो ।’

अहिलेको संकटपूर्ण परिस्थितिमा सरकारले केही गर्न नसक्दा पनि नेकपाले विकल्प दिन नसकेको आचार्यको विश्लेषण छ ।

नेकपाले लामो विवादमा समय खर्चिएर पनि कुनै विकल्प दिन नसकेर नेपाली जनताको भविश्य खतरामा पारेको उनको बुझाइ छ ।

‘कोभिड –१९, बाढी–पहिरो जस्ता महामारी र प्राकृतिक बिपत्तिका वेला जनताको म्यान्डेड पाएको नेकपाभित्र सरकार ढाल्ने विषयलाई लिएर विवाद हुनु नाङ्गो नाच सरह हो । उनी थप्छन्, ‘नेकपाले यत्रो लामो विवाद त गर्यो, तर ओलीको विकल्प दिन सकेन । जसले गर्दा तीन करोड करोड नेपालीको भविश्य झनै खराब बनायो ।’

अनेकन प्रयास गर्दा पनि ओली सरकार नढलेकाले त्यो समय त्यसै खेर गएको आचार्यको भनाइ छ ।

‘अहिलेको विषम परिस्थितिमा कि त सरकार ढाल्न खोज्नै नहुने र दौडधुप गरेर लागेपछि ढालेको भए एउटा परिणाम त आउँथ्यो त्यो पनि भएन’, उनी थप्छन् ।

प्रचण्ड, माधव नेपाल झलनाथ खनाललगायत पार्टीका बहुमत सदस्य सरकार ढाल्न लाग्दा समेत नढल्नु नेपाली राजनीतिका लागि सकारात्मक रहेको विश्लेषक आचार्यको बुझाइ छ ।

‘पहिले–पहिले नेपालका सरकार फु गर्दा ढल्थे । अहिले यत्रो शक्ति लाग्दा पनि सरकार ढल्दैन रहेछ भन्ने प्रमाणित भएको छ । यसलाई नेपाली राजनीतिमा फाइदाका रुपमा हुेर्नुपर्छ ।’​

 

  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १३:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया