दोस्रो सैनिक आचारसंहिता सप्ताह सम्पन्न

काठमाडौं– सैनिकलाई नैतिकवान, चरित्रवान, सैनिक मूल्य मान्यता, आचरण, देशभक्ति, निस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्ने हेतुले आयोजना गरिएको दोस्रो सैनिक आचारसंहिता २०७७ सप्ताह आज सम्पन्न भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समापन समारोहमा बलाधिकृत रथी प्रभुराम शर्माले सेनालाई प्राप्त जिम्मेवारीलाई पूरा गर्न सैनिक नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशील हुनु आवश्यक रहेको बताए । उनले भने, ‘कार्य सम्पादनको सिलशिलामा आउन सक्ने दुविधालाई निराकरण गर्न सबैभन्दा पहिला मन, वचन र कर्मलाई शुद्ध बनाउन अपरिहार्य छ ।’
 
सैनिक मुख्यालयले सकल दर्जालाई  बहाल रहँदा होस् वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र गर्न नहुने कार्य बारेमा सुसूचित गराउँदै अनुशासित, आचारणयुक्त र जिम्मेवार तुल्याउन अघिल्लो वर्षदेखि यो सप्ताह मनाउन शुरु गरेको हो । कोभिड–१९ को  जोखिमलाई दृष्टिगत गरी भौतिक दूरी कायम गरी आयोजना गरिएको उक्त कार्यक्रममा सकल दर्जालाई जस्तोसुकै परिस्थितिमा पनि प्राप्त जिम्मेवारीलाई संयमता र सुझबुझ पूर्ण ढङ्गबाट कसरी सम्पादन गर्ने भनी ज्ञान प्रदान गरिएको थियो । 

सप्ताहका क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट, आर्थिक कारोवार, लैंगिक आचरणलगायत विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल र प्रवचन सञ्चालन हुनेछ । 

उक्त कार्यक्रमबाट सकल दर्जाबीच आपसमा विश्वासको वातावरण सिर्जना भई अनुशासित, नैतिकवान र व्यावसायिक फौजका रुपमा स्थापित गर्न योगदान पुग्ने विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त आचारसंहिता सप्ताहको प्रधानसेनापति पूर्णचन्द्र थापाले यही साउन १ गते शुभारम्भ गरेका थिए ।





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १९:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया