काठमाडौं– नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार रोकायाको यही साउन १७ गते हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकस्थित निवासमा ६२ वर्षको उमेरमा निधन भएको हो ।
महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको उल्लेख गरेका छन् ।
हुम्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पुर्याउनु भएका रोकाया विसं २०५० देखि पत्रकारितामा सक्रिय हुनुका साथै लामो सयम कान्तिपुर दैनिकमा कार्य गरेका थिए ।
महासङ्घले स्व. रोकायाप्रति श्रद्धाञ्जली अर्पण गदै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । स्व.रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।