लामो दूरीका यातायात तथा हवाई उडान तत्काल खुल्दैन  ः मन्त्री खतिवडा
फाइल फोटो


अहिलेको अवस्थामा लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खुल्ने सम्भावना तत्काल नबनेको सरकारी भनाइ छ ।  मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लामो दूरीका यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान तथा विद्यालय खुल्ने अवस्था नरहेको बताएका हुन् ।

 

सरकारले यसअघि नै भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गर पनि पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्ने जनाउ अर्थमन्त्री खतिवडाले दिए ।

 

‘हामी विज्ञहरुको सल्लाहअनुसार निर्णय गर्नेछौं, उनले भने, ‘कतिपयले सधैँ बन्द गर्दा आर्थिक अवस्था डामाडोल हुने भएकाले खोल्नुपर्ने सुझाव दिनुभएको छ भने कतिपयले तत्काल खोल्न नहुने बताउनुभएको छ ।’ यसबारे सिसिएमसीको बैठक बसेर उपयुक्त निर्णय गर्ने र मन्त्रिपरिषदले पारित गर्ने उनले जानकारी दिए । 

 



विदेशबाट आउनेको हकमा अलपत्र परेका र तत्काल उद्दार गर्नुपर्नेलाई ल्याउने बताउँदै मन्त्री खतिवडाले  तत्काल नआए पनि हुनेलाई केही समय धैर्य गर्न र परिस्थिति सहज हुँदासम्म पर्खन समेत आग्रह गरे ।

 



सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न कडाइ गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्ने गरी बिचको बाटो अपनाउने मन्त्री खतिवडाको भनाइ छ ।

 

‘लकडाउन मात्रै समस्याको समाधान होइन, जहाँ जोखिम देखिँदैन त्यहाँ खुकुलो हुन्छ र जहाँ जोखिम बढ्छ त्यहाँ कडा हुनेछ,’ मन्त्री खतिवडाले भने, ‘देशव्यापी लकडाउनबारे अहिले सरकारले सोचेको छैन ।’ आवश्यक परेको ठाउँमा स्थानीय प्रशासनले कदम चाल्ने उनको भनाइ छ ।

 

कोरोना संक्रमण उच्च जनघनत्व भएका क्षेत्रमा बढी फैलिएकोले सरकारले थप सजगता अपनाएको र त्यही अनुसार तयारी गरिरहेको उनले बताए । स्वास्थ्य सुरक्षा अपनाउने, भिडभाड नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्नेलगायत सजगता अपनाउन र केही दिन अति आवश्यक छैन भने सार्वजनिक सेवा नलिन पनि उनले आह्वान गरे ।
 

  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १७:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया