खतिवडालाई थप शक्तिशाली बनाउने तयारीमा प्रधानमन्त्री ओली
फाइल फोटो

नेकपाको आन्तरिक शक्ति संघर्षका कारण अर्थ मन्त्रालयको जिम्मेवारीबाट च्युत भएका डा. युवराज खतिवडा फेरि ‘शक्तिशाली’ भएर उदाउने सम्भावना बढेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले डा. खतिवडालाई ‘आफ्नै वरिपरि’ राख्ने निष्कर्ष निकालेकाले उनी थप शक्तिशाली हुने चर्चा चल्न थालेको हो । 


नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफू जाने अडान लिएपछि बिहीबार बसेको नेकपा सचिवालय बैठकले उनलाई राष्ट्रिय सभामा लैजाने निर्णय गर्यो । फलस्वरुपः संघीय संसदको सदस्यता नभएकाले र मन्त्री भइसकेको ६ महिना पुगेकाले आजबाट अर्थमन्त्री खतिवडाको पदावधि सकिँदैछ 


उनलाई नै अर्थमन्त्रीमा दोहोर्याउन चाहेका प्रधानमन्त्री ओलीले अब उनलाई आफ्नो सल्लाहकार बनाउने र अर्थको मात्र नभएर सबै मन्त्रालयलाई ‘वाच’ गर्ने जिम्मेवारी दिने चर्चा नेकपा वृत्तमा चल्न थालेको हो । नेकपा स्रोतका अनुसार डा. खतिवडालाई थप ‘शक्तिशाली’ बनाउनेबारे प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी दिइसकेका छन् । 


यसमा प्रचण्डले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, ओलीको चाहनाअनुसार अब तत्काल अर्थ मन्त्रालयमा अरु कोही पनि मन्त्री नियुक्त नहुने सम्भावना बढेको छ । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेल वा सुरेन्द्र पाण्डेलाई दिइन सकिने चर्चा चलेको थियो । संवैधानिक व्यवस्था बाधा नभएसम्म ‘राष्ट्रिय सभाका नयाँ सदस्य’ सांसद् वामदेवले पनि अर्थलाई आफूले सम्हाल्ने बताउन थालिसकेका छन् ।


यसअघि अर्थ मन्त्रालयसँगै डा. खतिवडाले सम्हालेको सूचना तथा सञ्चार मन्त्रालयमा नयाँ नेतृत्व आउने सम्भावना बढेको छ । यो मन्त्रालय पनि अहिले तत्कालका लागि प्रधानमन्त्री ओली आफैंले राखेर सरकारका प्रवक्ताको जिम्मेवारी चाहिँ परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिने तयारी छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १४:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया