कांग्रेसले भन्यो : कोरोना मात्रै होइन, अन्य रोग लागेका बिरामीले पनि उपचार पाऊन्

नेपाली कांग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीर रुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दाखोज्दै र सङ्क्रमण आशङ्कामा उपचार नपाएर मृत्यु भएका घटना पटकपटक दोहोरिएको प्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ । 

यस्तो स्थिति दोहोरिन नदिन सरकारको  ध्यानाकर्षण गराउँदै कांग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य सङ्कलन गर्ने निर्णय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिबाट यही भदौ २० र २१ गते बसेको बैठकले कोरोना महामारीका कारण बढ्दो मृत्यु र फैलँदो सङ्क्रमण दृष्टिगत गरेर उच्चस्तरीय सुरक्षा सतर्कताका लागि सबैमा अपिल गर्दै विविध माध्यमबाट सचेतनाको सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

विभागीय प्रमुख एवं प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा भएको बैठकले तीनै तहका सरकारलाई नवीन र ऐक्यबद्ध रणनीतिका साथ कोरोनाविरुद्ध युद्धस्तरमा कार्य गर्न अपिल गर्दै समुदायस्तरमा सङ्क्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा ‘एक घर एक परीक्षण’ गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

आइसोलेसन विस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकारसमक्ष माग गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

अभावका बीच कोरोना सङ्क्रमणसँग फ्रन्टलाइनमा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थ्यकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ । उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीको मनोबललाई असर पुग्ने गरी कहीँ पनि कुनै ढङ्गको गतिविधि हुन नदिन सबैमा बैठकले अपिल गरेको उनले बताए ।
 
बैठकले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात् गरेर विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई निःशुल्क उद्धारको प्रक्रिया अघि बढाउन सरकारसमक्ष माग गरेको छ । राजधानीलगायत मुलुकका आधा भू–भागमा निषेधाज्ञा र लकडाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बैठकले स्थानीय तहमार्फत व्यवस्थित ढङ्गले राहत वितरण गर्ने गरी व्यावहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपिल गरेको छ ।
 
बैठकले कोरोना महामारीका कारण चुनौती व्यहोरिरहेका सञ्चारमाध्यमलाई संरक्षण गर्न र त्यसमा कार्यरत देशभरका पत्रकार कसैलाई पनि बेरोजगार बन्न नदिने दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको छ । यसैगरी बैठकले फ्रन्टलाइनमा कार्य गरिरहेका पत्रकारको परीक्षण, सुरक्षा व्यवस्थापन र उपचारमा विशेष निर्णयका साथ कार्य गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले निजी अस्पताललाई समेत पिसिआर परीक्षणको अनुमति दिइसकेका अवस्थामा कोरोनाको बिमा गरेका नागरिकलाई रकम भुक्तानी दिन निश्चित आशंकाकै कारण रोक्नु गलत रहेको ठहर गर्दै बैठकले यसलाई सरलीकरण गरेर कोरोना बिमितलाई भुक्तानी दिलाउन माग गरेको छ ।



बैठकले कृषि उत्पादनमा विशेष जोड दिनै पर्ने विद्यमान परिस्थितिमा कृषि उत्पादनका लागि कृषकको हितकेन्द्रित विशेष परियोजना निर्माण र लागू गर्न सरकार समक्ष माग गरेको छ । 

त्यसैगरी, कोरोनाले कष्टकर स्थितिमा पुगेका आंशिक प्राध्यापकहरुसँग अविलम्ब वार्ता गरेर समाधानमा पुग्न बैठकले त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।



  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १९:२९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया