कलाकारसँगको पुस्तक वार्ता
वर्षा भन्छिन्– अध्ययनले बनाउँछ परिपक्व र प्राेफेसनल

अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो फेसबुक पेजमा बुधबार आख्यानकार अमर न्यौपानेकाे उपन्यास ‘सेतो धरती’ पढिरहेकाे फोटो हालिन् ।

अनि त्यसकाे क्याप्सन लेखिन्– ‘नेपालको एक ग्रामीण भेगमा जन्मिएकी ‘तारा’ । बाल्यकालको रमझममा रमाउन नपाउँदै बालविवाहको बन्धनमा बाँधिएकी तारा । बिहे भएको केही समयमै श्रीमान् गुमाउने तारा । सकीनसकी आमाको मृत्युपश्चात भाइबहिनीको रेखदेख गर्ने पनि तारा । जीवन बुझ्नै नपाई विधवा भई जीवन एक्लै बिताउन बाध्य हुनुपर्ने ताराको कथाले नेपाली समाजको केही पहिलेको कालखण्डलाई निरुपण गरेको छ,’ फोटोको क्याप्सनमा वर्षा सिवाकोटीले लेखेकी छन्, ‘सेतो पहिरनलाई मात्र अँगाल्नुपर्ने र जता गए नि घृणालाई नै इष्ट ठान्नु पर्ने कैयौँ ताराहरुको संघर्षलाई स्थान दिएर जीवन्त तुल्याई दिनु हुने आमर न्यौपानेलाई धेरै–धेरै धन्यवाद ।’

वर्षाले पुस्तक र पुस्तककी पात्र ‘तारा’काे चर्चा मात्र गरेकी छैनन् । उनले त याे पुस्तक धेरैले पढ्नु पर्ने भन्दै सिफारिस गरेकी छिन् ।

हुन त न्याैपानेकाे याे पुस्तक नेपालका चर्चित पुस्तकमध्ये एक हाे जसले मदन पुरस्कारसमेत जितेकाे छ ।

000

 



विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन नभएकाे हुन्थ्याे भने सायद वर्षाले यसरी आनन्दले पुस्तक पढ्ने फुर्सद पाउने थिइनन् । उनी त कतै कुनै फिल्मकाे सुटिङमा व्यस्त हुने थिइन् हाेला ! लकडाउन सुरु हुनु अगाडि नै सुटिङ सुरु भएको ‘परदेशी’ काे । तर अहिलेकाे परिस्थितिमा यसकाे काम अगाडि बढ्ने कुरै भएन । याेमात्र हाेइन, सिवाकोटीका अरु केही प्राेजेक्टमा पनि अहिले अल्पविराम लागेको छ । 

तर, वर्षा सिवाकोटीले यो लकडाउनलाई यसरी सदुपयोग गरिन् कि जसले उनलाई आफ्नो चलिरहेकै काम रोकिँदा पनि दुःखी हुन दिएन । बरु उनी त आफूले लकडाउनलाई अति नै ‘प्रोडक्टिभ वे’ मा उपयोग गर्न सकेकोमा बडो गर्व गर्छिन् । वर्षालाई यो क्षण दिने स्रोत हो, पुस्तक । 



वर्षाले लकडाउनमा १० वटा पुस्तक पढिन् । केही पुस्तक हातमा र केही पढ्ने ‘लिस्ट’ मा छन् । अमर न्यौपानेको सेतो धरती र गुलाबी उमेर, बुद्धिसागरको कर्णाली ब्लुज, हर्मन हेस्सेको सिद्धार्थ, रोन्डा ब्यर्न दी सिक्रेट्स, खगेन्द्र लामिछानेको फुलानी, पारिजातको शिरीषको फुल, नारायण वाग्लेको पल्पसा क्याफे, मिसेल ओबामाको बिकमिङ, निकको लिमिटलेस, उनले पढेका पुस्तक हुन् ।

त्यसो त उनी अघिपछि पनि पढ्न रुचाउँछिन् । तर, पछिल्ला केही वर्षयता आफ्नो करियरमा व्यस्त हुन थालेपछि उनले अलि ‘मज्जाले’ पढ्न पाइरहेकी थिइनन् । वर्षा भन्छिन्, ‘यस्तो लाग्थ्यो, महिनौंदेखि थन्किरहेका किताबले मलाई गिज्याइरहेका छन् ।’ पढ्नका लागि समय नपाइरहेको कुराले कहिले काहीँ नराम्रो महसुस गराइरहेको हुन्थ्यो ।

यस्तो किन भने उनलाई थाहा छ– मान्छेलाई अध्ययनले नै परिपक्व र प्रोफेसनल बनाउँछ । सिनेमा र साहित्य एकअर्काका परिपूरक हुन् ।

‘मलाई पढ्न एकदमै पिस चाहिन्छ अनि फ्री समय पनि,’ वर्षाले टेलिफोनमा भनिन्, ‘मज्जाले पढ्ने वातावरण नै पाइरहेकी थिइनँ । लकडाउनले फ्री भएर पढ्ने वातावरण मिलाइदियो ।’

यो समयको अध्ययनले केही कुरा टड्कारै महसुस गराइदिएको छ, वर्षालाई । तीमध्ये पनि दुई कुरा निकै गहिरोसँग महसुस भएको छ, उनलाई । पहिलो, मुभीका लागि हामीसँग धेरै अर्ग्यानिक कथा हुनु र पढ्ने बानीले दिमागको थेरापी हुनु । 

सुरुमा उनी अध्ययन गर्ने बानीले कसरी दिमागको थेरापी हुन्छ भन्ने चर्चा गर्नतर्फ लागिन् । ‘हामी मिडिया फिल्डमा लागेका मान्छेलाई धेरै जसो समय मेन्टल स्ट्रेस हुन्छ । आफ्नो माइन्डलाई सधैं सन्तुलनमा राखिरहन एकदमै आवश्यक,’ उनले आफ्नो रियलाइजेसन् सुनाइन्, ‘पुस्तक पढ्ने बानीले प्यासेन्स लेभल राम्रो बनाउनुका साथै हामीलाई शान्त र सन्तुलित बनाउँछ ।’

लकडाउन अवधिभर आफू पुस्तककै साहराले ‘मेन्टल्ली फ्रेस’ रहन सकेको उनको निष्कर्ष छ । अहिले उनी आफू मानसिक रुपमा धेरै स्वच्छ भएको पनि बताउँछिन् ।

त्यसपछि उनी दोस्रो अनुभूतिको चर्चा गर्न लागिन् । उनले यो अनुभूति आफूले एक कलाकारका दृष्टिले हेर्दा महसुस गर्न सकेको तर्क गर्छिन् । 

‘मुभीका लागि हामीसँग धेरै अर्ग्यानिक कथाहरु रहेछन्,’ वर्षाले उदाहरण दिँदै भनिन्, ‘गुलाबी उमेर, सेतो धरती, कर्णाली ब्लुज, फुलानी, शिरीषको फूल, पल्पसा क्याफे, यी सबै माथि सिनेमा बनाउन सकिन्छ भन्ने बोध भयो । हामीसँग भन्नका लागि धेरै कथा रहेछन् नि ।’

वर्षा सिवाकोटीले यीमध्ये कुनै एकलाई छानेर मुभी बनाउनु पर्‍यो भने कुन पुस्तकलाई छान्छिन् त ?

उनको यसका सहज उत्तर छ– गुलाबी उमेर । यो पुस्तकलाई मुभीमा ढाल्न सकिने गरी लेखिएको र ढाल्दा राम्रो हुने बताउँछिन् ।

‘गुलाबी उमेर मुभीका लागि बेस्ट किताब हो भन्ने लाग्छ,’ उनी अलि सन्देह गर्दै भन्छिन्, ‘तर, कथावस्तु राम्रो भएर मात्रै हुँदैन, प्रस्तुतीकरण पनि राम्रो हुनुपर्छ । ’

नेपालमा अहिलेसम्म नेपाली सिनेमा क्षेत्रमा पुस्तकमाथि आधारित भएर बनाइएका फिल्महरु राम्रोसँग प्रस्तुत गर्न नसकेकै कारण सफल नभएको उनको बुझाइ छ । 

भन्छिन्, ‘पुस्तकमाथि मुभी बनाउँदा सबैभन्दा धेरै हात निर्देशकको हुन्छ ।  हामीकहाँ खारिएका निर्देशक निकै कम छन्, जसले पुस्तकलाई न्याय गर्न सकून् ।

त्यसैले, ‘नोबल बेस्ड मुभी’ बनाउनका लागि अझै तयार छैनौं कि भन्ने उनलाई लागेको छ । तर, उनी सम्भावना र हामीसँग कथा चाहिँ प्रशस्तै भएको मत भने राख्छिन् ।

कलाकारले धेरै पढ्नु आवश्यक छ

कलाकारहरुले अभिनय गर्दा सामाजिक घटना र सामाजिक पात्रहरूको भूमिका निभाउनु पर्ने हुनाले आफूहरुले समाजलाई धेरैभन्दा धेरै बुझ्नु पर्ने उनी मान्छिन् । त्यसका लागि धेरैभन्दा धेरै अध्ययन गर्नुपर्ने उनको तर्क छ । 

‘आफूलाई त्यो समाजको घटना र समाजको पात्रमा ढाल्नका लागि हामीले समाजलाई अध्ययन गर्नु अपरिहार्य छ,’ वर्षा आफ्नो विचार सुनाउँछिन्, ‘त्यसका लागि सामाजिक कथामा आधारित भएर लेखिएका पुस्तक पढ्नु पर्छ ।’

कलाकारसँग पढ्नुको विकल्प नहुने उनी मान्छिन् । भन्छिन्– ‘हामीले जसरी पनि पढ्नु पर्ने रहेछ ।’ यसबाहेक आफ्नो कल्पनाको दायरा र ज्ञानको दायरालाई पनि फराकिलो बनाउन कलाकारहरुले पढ्नु पर्ने उनको बुझाइ छ । 

‘मुभी हेर्दा सबै कुरा दृष्यमै देखिन्छ, त्यसैले मुभीले देखाएभन्दा पर गएर कल्पना गर्न सकिँदैन,’ उनी भन्छिन्, ‘तर पुस्तक पढ्दा कुनै पनि कुराको दायरा हुँदैन । आफूलाई मनलागे जसरी कल्पना गर्ने सुविधा हुन्छ । पुस्तक पढ्ने बानीले शब्दलाई भिजुएलाइजेसन् गर्नमा मात्रै सहयोग गर्दैन, कल्पनाशक्ति बढाउनमा समेत सहयोग गर्छ ।’

पुस्तक पढ्ने बानीले मान्छेको ज्ञानको दायरा फराकिलो त बनाउँछ नै यो बानीले एउटा अर्को पनि फाइदा देख्छिन् वर्षा । त्यो हो, वहस गर्नका लागि समान विषय हुनु ।

‘मान्छेहरूसँग कुरा गर्नका लागि कमन टपिक हुन्छ,’ उनी उत्साहित हुँदै भन्छिन्, ‘मान्छेलाई वहसले नै त निर्खादै, परिपक्क बनाउँदै लैजान्छ । मान्छेको बुझ्ने र सोच्ने तरिका नै फरक हुन्छ नि । होइन र ?’

लकडाउनको सुरुको दिनबाटै पढ्नमा केन्द्रित भइन्, पुस्तकलाई ‘मोस्ट प्रायरेटी’ मा राखिन् । उनीसँग धेरै किताब पहिल्यै थिए, केही किताब बीचमा लकडाउन खुकुलो हुँदा अनलाइन अर्डर गरिन् । 

यो क्रममलाई निरन्तरता दिने मुडमा छिन्, उनी । अब कोरोना कहरपछि कामको चापमा पनि जसरी हुन्छ पढ्नका लागि केही समय निकाल्ने सोच बनाइसकेकी छन्, वर्षाले । 
‘पढ्नु पर्छ भनेर थाहा थियो, ट्राभलिङ गर्दा, मुभीबाट फुर्सद हुँदा अलि–अलि पढिरहेको पनि हो,’ वर्षाले आफ्नो विगत साटिन्, ‘तर पनि अध्ययनका लागि समय मिलाउनै सकिरहेको थिइन । लकडाउनले धेरै कुरा रियलाइज गरायो । धेरै कुरा मिस गरिरहेकी रहेछु ।’

०००

वर्षा सिवाकोटीको हातमा अहिले अमर न्यौपानेकै करोडौं कस्तुरी छ । यही पुस्तकमार्फत् उनी अहिले शब्दहरूको प्रेमिल संसारमा सयर गरेर आफूभित्रका थप सम्भावनालाई पहिचान गर्दै छन् । अर्थात्, आफैंभित्र मगमगाइरहेको सम्भावनाको बास्ना पहिल्याउन खोजिरहेकी छन् ।

  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १२:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया