प्रधानमन्त्री ओलीको संरक्षणमा भ्रष्टाचार मौलायोः ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएपछि उनको संरक्षणमा भ्रष्टाचार मौलाएको एक अन्तराष्ट्रिय संस्थाले आरोप लगाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको हो ।

सो संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणको डङ्का पिटे पनि आफूलाई खुद्रे मुद्दामा मात्र सीमित राखेको आरोप लगाएको छ । प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्ड घटेको ट्रान्सपरेन्सी इन्टरनेसनलको आरोप छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेको छ । सोही सन्दर्भमा न्युज एजेन्सी नेपालसँग आइतबार कुराकानी गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारी संरक्षित भएको बताए । 

बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उहाँको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने रेग्मीको भनाइ छ । भ्रष्टाचारको मूल राजनीतिकनेतृत्व तह भएको भन्दै उनले तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण नहुने बताए । 

‘यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न । शून्य सहनशीलता अपनाउँछु भन्नुभयो, तर व्यवहार मा त्यो उतार्न सक्नुभएन,’ उनले भनेका छन्, ‘उहाँको भ्रष्टाचारविरुद्धको बोली ओठे प्रतिबद्धता मात्रै देखियो, कार्यान्वयनमा देखिएन ।’



प्रधानमन्त्रीको बोलाइ र गराइमा एकरुपता नदेखिएको र उनीनिकटका राजनीतिक व्यक्ति र कर्मचारीमा जति लुटे पनि प्रधानमन्त्रीबाट वा सरकारबाट संरक्षण पाउने र अख्तियारको केही नचल्ने बुझाइ रहेको रेग्मीको आरोप छ । 

आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गा यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहले गरेको अनियमितताका मुद्दामा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषीलाई कारबाही गर्नुको सट्टा अख्तियारले फाइल तामेलीमा राखेर बन्द राखेकोमा उनले आपत्ति जनाए । 



  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार २०:१३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया