पश्चिमाञ्चल क्याम्पसमा चट्टान तथा सुरुङ  इञ्जिनियरिङको अध्ययन
प्रतीकात्मक तस्बिर


पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिनियरिङको अध्ययन सुरु भएको छ ।

सुरुङ इञ्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ सुरु गरिएको बताइएको छ ।


सिभिल इञ्जिनियरिङमा स्नातक पास भई इञ्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १ सय मध्येबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन सुरु गरिएको क्याम्पस प्रमुख इञ्जिनियर रामप्रसाद पौडेलले बताए ।

उनका अनुसार कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन÷अध्यापन सुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अगामी असोज, कात्तिक र मङ्सिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा सुरु हुनेछ ।

पहाडी भूगोल भएको देशमा तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प नभएको र सोका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाउन सहज हुने भएकाले मागका आधारमा सुरुङ इञ्जिनियरको अध्यापन गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए ।


क्याम्पसले प्रयोगात्मक कक्षाका लागि नेपाल टनेलिङ एशोसिएशन, हाइड्रो ल्याब, एनइए इञ्जिनियरिङलगायतका विभिन्न संस्थासँग सहकार्य गर्ने र उनीहरुको स्रोत साधन उपयोग गर्ने योजना रहेको जनाएको छ । सो कार्यक्रमको कोर्ष सैद्धान्तिकभन्दा अधिकांश प्रयोगात्मक छ ।



सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले हाल विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ । विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ।

यसअघि क्याम्पसले विषयविज्ञ भेला गरी सुरुङ इञ्जिनियरिङको पाठ्यक्रम तयार गरेको थियो । सो पाठ्यक्रमलाई त्रिविले अनुमोदन गरेपछि पढाइ सुरु गरिएको क्याम्पसका चट्टान तथा सुरुङ कार्यक्रममा संयोजक कौशलचन्द्र जिसीले जानकारी दिए ।



गण्डकी प्रदेश सरकारले सुरुङ इञ्जिनियरिङको पठनपाठनमा सहयोग गरेको छ । पाठ्यक्रम तयार गर्न १० लाख बजेट उपलब्ध गराएको सरकारले चालू वर्षमा कार्यक्रम सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरेको छ ।

पश्चिमाञ्चल क्याम्पसमा सो कोर्षको अध्यापनका लागि नर्वेजियन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) विश्वविद्यालयले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

पाठ्यक्रम निर्माण, प्राध्यापक व्यवस्थापनलगायतमा सो विश्वविद्यालयले सघाएको थियो । एनटीएनयूका प्रोफेसर डा कृष्णकान्त पन्थीले चट्टान तथा टनेल इञ्जिनियरिङमा नेपालले क्षमता विकास गर्नु आवश्यक रहेको बताए ।


काठमाडौँ विश्वविद्यालयपछि पोखरामा यस विषयको पढाइ सुरु भएको हो । जिइयो म्याट्रिक्समा स्नातक विसं २०६९ बाट सुरु भएकोमा अहिले स्नातकोत्तरको समेत अध्यापन सुरु गरिएको सहायक क्याम्पस प्रमुख सुनिल दाहालले बताए ।  यस कार्यक्रममा १६ जना विद्यार्थी छन् ।
 

  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १४:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया