आइपिएलमा देखिने नयाँ अनुहार

विश्वमा निकै रुचाइएको इन्डियन प्रिमियर लिग (आइपिएलको) तेह्रौं संस्करण शनिबार (आज) बाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ । नोभेम्बर १० सम्म चल्ने प्रतियोगिता युएईका तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुनेछन् ।

साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाइ सुपर किंग्सबीचको खेलबाट प्रतियोगिताको सुरुवात हुनेछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे अबुधाबीमा हुनेछ । बिना दर्शक खेलाइने हुनाले यो वर्षको आइपिएलको रौनक अघिल्ला वर्षहरूमा जस्तो छैन ।

यो सिजन धेरै खेलाडीहरूले पहिलोपटक आइपिएलमा सहभागी हुने मौका पाएका छन् तर यहाँ केही खेलाडीको मात्र चर्चा गरिएको छ । 

यशस्वी जैसवाल (राजस्थान रोयल्स)

भारतका यशस्वी जसैवाल यो सिजन आइपिएलमा सबैको नजरमा पर्न सक्ने खेलाडीमध्ये एक हुन् । घरेलु प्रतियोगिता तथा यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका उनले आफू भविष्यमा स्टार बन्ने संकेत दिइसकेका छन् । राजस्थानले १८ वर्षीय जैसवाललाई २ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । गत वर्ष दक्षिण अफ्रिकामा सम्पन्न यु–१९ विश्वकपमा ६ खेलबाट १ शतक तथा ४ अर्धशतकको मद्दतमा ४ सय रन बनाउँदै जैसवाल प्रतियोगिताको सर्वाधिक रन कर्ता तथा सर्वोकृष्ट खेलाडी चुनिएका थिए । 



त्यस्तै उनले १३ लिस्ट ‘ए’ खेलमा पनि समान ३ शतक तथा अर्धशतकसहित कुल ७ सय ७९ रन बनाएका छन् । उनले गत वर्ष लिस्ट ‘ए’ मा २ सय ३ रन बनाउँदै सबैभन्दा कम उमेरमा दोहोरो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । आक्रामक ब्याटिङ गर्ने जैसवालले ओपनिङमा इङ्ल्यान्डका जोस बटलरलाई साथ दिने प्रवल सम्भावना छ । उनले यो आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 

रवी बिस्नोई (किंग्स इलाभेल पञ्जाव)



भारतीय युवा लेग स्पिनर रवी बिस्नोइले पनि यो सिजन आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । युएईको पिच स्पिनर सुहाउँदो भएकाले पनि उनले मौका पाउने सम्भावना धेरै छ । उनले स्पिन आक्रमणमा अफगानिस्तानका मुजिव उर रहमानलाई साथ दिने छन् ।

२० वर्षीय बिस्नोईले गत वर्षको यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी ६ खेलबाट १७ विकेट हात पार्दै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । पञ्जावले बिस्नोईलाई २ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । 

सेल्डन कोट्रेल 

वेस्ट इन्डिजका ३१ वर्षीय मध्यम गतिका बलर सेल्डन कोट्रेललाई पञ्जावले ८ करोड ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । उनले वेस्ट इन्डिजका लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ तथा २७ टि–२० अन्तर्राष्ट्रियमा ३६ विकेट लिएका छन् ।

एलेक्स केरी (दिल्ली क्यापिटल्स)

अस्ट्रेलियन विकेटकिपर ब्याट्म्यान पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनले  भर्खरै सम्पन्न इङ्ल्यान्ड विरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिरिजको अन्तिम खेलमा शतक प्रहार गरेका थिए ।​केरीले अस्ट्रेलियाका लागि ३९ एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार ३६ तथा ३० टि–२० अन्तर्राष्ट्रियमा १ सय ७६ रन प्रहार गरेका छन् । 

टि–२० मा केही कमजोर देखिए पनि उनी दिल्लीमा विकेटकिपर ब्याट्म्यान रिषभ पन्तको विकल्पका रूपमा रहनेछन् । २९ वर्षीय केरीलाई दिल्लीले २ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

टोम बेनटन (कोलकाता नाइट्स राइडर्स)

बेनटन पनि पछिल्लो समयमा उत्कृष्ट लयमा छन् । उनले पाकिस्तानविरुद्धको टि–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ​बेनटनले इङ्ल्यान्डका लागि ६ अन्तर्राष्ट्रिय एकदिवसीयमा १ सय ३४ तथा ९ अन्तर्राष्ट्रियमा २०५ रन प्रहार गरेका छन् । २१ वर्षीय बेनटनलाई कोलकाताले १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । 

जोसुवा फिलिप्स (रोयल च्यालेन्जर्स बैङ्लोर)

यी अस्ट्रेलियन युवा विकेट किपर ब्याट्म्यानले हालसम्म राष्ट्रिय सिनियर टोलीका लागि डेब्यु गरेका छैनन् तर गत सिजनको विग ब्यास लिगमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । गत सिजन सिड्नी सिक्सरलाई विग ब्यास उपाधि दिलाउन उनले मुख्य भूमिका निर्वाह गरेका थिए । उनले यो सिजन १६ खेल खेल्दा ४८७ रन प्रहार गरेका थिए । २३ वर्षीय फिलिप्सलाई बैङ्लोरले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

अली खान (कोलकाता नाइट्स राइडर्स)

अली खान आइपिएल खेल्ने पहिलो अमेरिकी खेलाडी हुन् । उनले भर्खरै सम्पन्न क्यारेवियन प्रिमियर लिगमा ट्रिन्वागो नाइट राइडर्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । २९ वर्षीय यी खेलाडीलाई कोकाताले इङ्लिस खेलाडी ह्यारी गुनरेको स्थानमा भित्र्याएको हो ।

प्रियम गर्ग (सन राइजर्स हैदराबाद)

१९ वर्षीय प्रियम गर्गले गत वर्षको यु–१९ विश्वकपमा भारतीय टोलीको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा टिमले फाइनलसम्मको यात्रा तय गरेको थियो । यी ब्याट्म्यानले हालसम्म १९ लिस्ट १ खेलमा ७ सय ७ रन प्रहार गरेका छन् । उनलाई हैदराबादले १ करोड ९० लाखमा अनुबन्ध गरेको हो ।

डानियल साम्स (दिल्ली क्यापिटल्स) 

यी अस्ट्रेलियन बलिङ अलराउन्डले गत सिजनको विग ब्यास लिगमा उत्कृष्ट  प्रदर्शन गरेका हुन् । उनले उक्त सिजनमा सिड्नी थन्डरका लागि १७ खेलमा ३० विकेट हात पारेका थिए । उनलाई दिल्लीले इङ्लिस खेलाडी जेसन रोयको स्थानमा भित्र्याएको थियो ।

विराट सिंह (सनराइजर्स हैदराबाद)

घरेलु प्रतियोगितामा राम्रो छाप छाडेका भारतीय यी युवा ब्याट्म्यानले यो सिजनको आइपिएलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।​ मध्यक्रममा राम्रो प्रदर्शन गर्ने २२ वर्षीय यी खेलाडीलाई हैदराबादले १ करोड ९० लाखमा अनुबन्ध गरेको हो ।

  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार १८:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया