खेलाडी वर्गीकरणमा क्यानको विभेदले उब्जाएकाे प्रश्न

नेपाल क्रिकेट संघ (क्यानको) मंगलबार बसेको बैठकले विभिन्न निर्णय गर्यो । तीमध्ये सबैभन्दा महत्वपूर्ण निर्णय थियो, खेलाडीको वर्गीकरण । सन् २०२० का लागि क्यानले १८ पुरुष तथा १९ महिला राष्ट्रिय खेलाडीको वर्गीकरण गरेको हो ।

पहिलोपटक महिला खेलाडी वर्गीकरणमा पर्नु नेपाली क्रिकेटका लागि राम्रो संकेत हो । तर, वर्गीकरण अपेक्षाकृत सन्तुलित देखिएको छैन । क्यानले खेलाडी वर्गीकरणमा विभेद गरेको भन्दै विरोधका स्वर सुनिन थालेका छन् । 

सन् २०१९ मा नेपालका लागि एउटा पनि अन्तर्राष्ट्रिय खेल नखेलेका ओपनर तथा विकेटकिपर ब्याट्म्यान सुवास खकुरेल र तीव्र गतिका बलर कमलसिंह ऐरी वर्गीकरणमा पर्दा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर ललित राजवंशी भने वर्गीकरणमा पर्न सकेनन् । गत वर्ष नेपालका लागि १८ खेल खेलेर १५ विकेट लिएका ललित यसअघिको वर्गीकरणमा ‘बी’ ग्रेडमा थिए । 

त्यस्तै, गत वर्ष नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर सोमपाल कामी ‘ए’ ग्रेडबाट ‘बि’मा झर्दा अर्का तीव्र गतिका बलर अभिनाश बोहोरा ‘बी’बाट ‘सी’ ग्रेडमा झरे । 

गत वर्ष नेपालका लागि मात्र ६ खेल खेलेका स्पिनर वसन्त रेग्मी ‘बी’बाट ‘ए’ग्रेडमा उक्लिएका छन् । उनी यसअघिको वर्गीकरणमा ‘बी’ ग्रेडमा पर्दा क्यानको निकै आलोचना भएको थियो । त्यही आलोचनालाई ढाकछोप गर्ने बहानामा क्यानले फेरि गम्भीर गल्ती गरेको छ । 

पछिल्लो एक वर्षको प्रदर्शनलाई ध्यानमा राखेर खेलाडीको वर्गीकरण गर्नुपर्नेमा क्यानले खेलाडीमाथि विभेद गरेको प्रस्टै देखिन्छ । 



गत माघमा क्यानले खेलाडीको पारिश्रमिक तथा ग्रेड निर्धारण गर्न कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजत्वमा केन्द्रीय सदस्य दुर्गाराज पाठक तथा अमितवीर पाण्डे सम्मिलित तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।

 त्यही समितिको सिफारिसमा खेलाडीको वर्गीकरण गरिएको क्यानको दाबी छ । ग्रेडिङ सिस्टममा नराम्रो खेलाडी घटुवामा पर्ने तथा राम्रो खेल्ने खेलाडी बढुवामा पर्ने हुनुपर्ने थियो । तर, पछिल्लो वर्गीकरण विभेदपूर्ण देखिएको छ । 



घटुवामा पर्ने खेलाडीले बढुवामा पर्ने तथा बढुवामा पर्ने खेलाडीले ग्रेड कायम राख्न कडा मिहिनेत गर्नुपर्छ । यसले उत्कृष्ट खेलाडी उत्पादनमा मद्दत पुग्छ । तर, संरक्षक संस्थाले नै धाँदलीपूर्ण निर्णय गरेपछि खेलाडीको मनोबल खस्किन्छ ।  

यसरी जथाभावी तरिकाले खेलाडीको वर्गीकरण गर्दा न त खेलाडीको प्रदर्शनमा सुधार आउँछ न त ग्रेडिङ सिस्टमको औचित्य नै पुष्टि हुन्छ । 

खेलाडी वर्गीकरणमा राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्दा यसले नेपाली क्रिकेटको भविष्य कतातिर लैजाला ? क्यानका जिम्मेवार व्यक्तिले यसमा ध्यान दिनुपर्ने देखिन्छ ।   

यसरी खेलाडीको भविष्यमाथि खेलबाड गरिनु पक्कै पनि सानो विषय होइन । यसले क्यानको नियतमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । 

यदि साँच्चै नेपाली क्रिकेटको विकास गर्ने हो भने क्यानले समयमा नै आफ्नो गल्ती सुधार गरेर अन्यायमा परेका खेलाडीको पक्षमा निर्णय गर्नुपर्छ ।  
 
पहिलोपटक महिला खेलाडीलाई वर्गीकरणमा समेटेर उदाहरणीय काम गरेको क्यानले परिश्रमिकमा पनि ठूलै विभेद गरेको देखिन्छ । ‘ए’ ग्रेडमा पर्ने पुरुष खेलाडीको मासिक पारिश्रमिक ५० हजार हुँदा सोही ग्रेडमा पर्ने महिला खेलाडीको पारिश्रमिक भने मात्र १५ हजार मात्रै तोकेको छ । 

त्यस्तै ‘बी’ र ‘सी’ ग्रेडमा हुने पुरुष खेलाडीको पारिश्रमिक क्रमश: ४० र ३० हजार हुँदा महिला खेलाडीको भने १२ र १० हजार मात्र छ । 

  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १९:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया