बिहीबार बिहानै कोरोनाले चार जनाको मृत्यु
फाइल तस्बिर

बिहीबार बिहानै कोरोना भाइरस (कोभिड-१९) संक्रमणले चार जनाको मृत्यु भएको छ । बुटवल, चितवन र डडेलधुरामा गरेर चार जनाको मृत्यु भएको हो । 

बिहीबार बिहान कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ४९ र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको हो । 

असोज १ गतेदेखि कोरोनाको उपचार गराउँदै आएका बुद्धभूमि-६ का ५० र भदौ २७ गतेदेखि उपचार गराउँदै आएका नवलपरासी रामग्राम-३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । 

उनीहरुको सात दिनदेखि भेन्टिलेटरमा उपचार भइराखेको थियो । बुद्धभूमिका पुरुषको बिहान सात बजे मृत्यु भएको हो । उनी मधुमेह र मिर्गौलाका रोगी थिए । सँगै भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी रामग्रामका ४९ वर्षीय पुरुषको कलोजोमा समस्या थियो । 

डडेलधुरामा कोरोनाको पहिलो मृत्यु

गएराति डडेलधुरा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । केही दिनअघि भारतबाट आएका नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेलधुरा अस्पतालमा मृत्यु भएको हो । 



भारतबाट फर्किएका उनलाई श्वासप्रश्वासमा समस्या  भएपछि डडेलधुरा अस्पताल भर्ना गरिएको थियो । 

मृतकलाई भारतमा कोरोना संक्रमण पुष्टि भएको र डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । जिल्लामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो ।



उनको  शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकसँग समन्वय भइरहेको अस्पतालले जनाएको छ । डडेलधुरामा बिहीबार एकजनाको मृत्यु भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १६ पुगेको छ । 

तनहुँका  पुरुषको चितवनमा मृत्यु 

बुधबार राति चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक युवाको मृत्यु भएको हो। 

तनहुँको आँबुखैरहनी नगरपालिका-३ का ३९ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको  अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। मिर्गौला पीडित युवकको बुधबार राति १२:५५ बजे मृत्यु भएको हो।

भदौ २९ गते डायलासिस गराउन अस्पताल पुगेका उनमा  भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको गएराति मृत्यु भएको हो। 

नेपालमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ४३६ जनाको मात्र मृत्यु भएको औपचारिक जानकारी दिएको छ । 

६७ हजार ८०४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४९ हजार ९५४ जनाले कोरोना जितेका छन् ।  

  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार ९:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया