डा. केसीको अनशन १७ औं दिनमा : सरकारलाई छैन चासो

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै लामो समयदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।  

अनशनको १७ औं दिन पुग्दा डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केसीको उपचार समूहका संयोजक डा. सुवासप्रसाद आचार्यका अनुसार उनलाई छाती र मांसापेशी दुख्नेसँगै रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएको छ ।

अनशनको समय लम्बिदै जाँदा केसीलाई बढी थकान महसुस भइरहेको छ । केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुँदा थप समस्या भइरहेको छ ।

मुटुको चालमा समेत समस्या आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको रगतमा सेता रक्तकोषको मात्रामासमेत कमी आएको छ । 

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।   

केसीले अनशन सुरु गरेको बुधबार १७ दिन भएको छ । तर, अहिलेसम्म सरकारले कुनै वास्ता गरेको देखिँदैन ।
केसीको अनशनका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीच टेलिफोनमा कुराकानी भए पनि शीर्ष नेतृत्व मन्त्रिपरिषद् फेरबदलको छलफलमै व्यस्त छ ।



केसीको स्वास्थ्यअवस्था बिग्रिँदै जाँदा पनि सरकारको बेवास्ता गरेको भन्दै विभिन्न सरोकारवाला समूहले जीवन रक्षाको माग गर्दै आएका छन्  । चिकित्सकले केसीको स्वास्थ्य अवस्था हेर्दा तत्काल आइसीयूमा सार्नु पर्ने बताउँदै आएका छन् । तर, सरकारी पक्षले अहिलेसम्म यसबारे कुनै चासो देखाएको छैन ।

केसीका मागको सम्बन्धमा उनका सहयोगीले सरकारलाई ज्ञापनपत्र बुझाएरै औपचारिक जानकारी गराएका छन् । तर, यस विषयमा सरकारले चासो नै नदिएको केसीका सहयोगी प्रितम सुवेदीको भनाइ छ ।



यता सरकार भने कोरोना भाइरस (कोभिड-१९)को समयमा अनशन बसेर केसीले गलत गरेको भन्दै उनको स्वास्थ्यलाई बेवास्था गरिरहेको देखिन्छ ।

मंगलबार त्रिवि शिक्षण अस्पतालको परिसरमा डा. केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सक, इन्टर्न डाक्टर र एमबीबीएस अध्ययनरत विद्यार्थीले दीप प्रज्ज्वलन गरेका थिए। 

डा. केसी ६ बुँदे मागसहित भदौ २९ देखि सत्याग्रहमा छन् । यो उनको १९ औँ सत्याग्रह हो।  

  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार ७:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया