‘रअ’ प्रमुख गोयलको काठमाडौं भ्रमणका १६ घण्टा

भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं भ्रमण गरेर फर्किएका छन् । ‘गुप्तचर शैली’मा बुधबार काठमाडौं आएका गोयल गुप्तचर शैलीमै भ्रमण सकेर बिहीबार दिल्ली फर्किएका हुन् ।

चार्टर्ड विमानमार्फत् त्रिभुवन विमानस्थल उत्रिएका गोयल सोही बिमानमा फर्किएका हुन् । नेपालीहरूको घरदैलोमा बडादसैं भित्रिनेबेला काठमाडौं झरेका रअ प्रमुख गोयल काठमाडौंमा विभिन्न नेताहरूसँग गोप्य भेटघाट गरेर फर्किएका छन् । 

गोयल काठमाडौं आएको र गएको बाहेक सबै गतिविधि गोप्य नै राखिएको छ । काठमाडौं भ्रमणका क्रममा उनले क–कसलाई भेटे भन्ने कुरा सबै गोप्य राखिएको छ । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले ‘रअ’का प्रमुख गोयल काठमाडौं आएर फर्किएको बताए । उनले औपचारिक भ्रमण नभएकाले व्यक्तिगत वा धार्मिक भ्रमण हुनसक्ने बताए ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्काे सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्ने सार्वजनिक गरिएन । गोयलका लागि द्वारिकाज होटल र हायात होटलमा कोठा बुक गरिएको स्रोतले जानकारी दियो । गोयलको भ्रमणका बारेमा नेपाली सेनाको मुख्यालयले समेत प्रष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि गोयलको भ्रमण कार्यक्रमबारे अनभिज्ञता जनाइन् । तर, परराष्ट्रले नै ‘कूटनीतिक अनुमति’ सहित भारतीय कूटनीतिक उडानका लागि आवश्यक प्रबन्ध तय गर्न भन्दै नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो । सोहीअनुसार नेपाल उड्डयन प्राधिकरणले प्रबन्ध मिलाएको थियो ।

दुई देशबीचको सीमा विवादमा नेपालले लिम्पियाधुरासमेतको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन् । 



गोयल नेपाल आएको यो पहिलोपटक भने होइन । उनी यसअघि सन २०१९ को जुलाईमा आएका थिए । त्यतिबेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए । उनको यसपालिको भ्रमणबारे भारत र नेपाल दुवै पक्षले गोप्य राखेका छन् । भारतीय दूतावासले गोयल आएको अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्रीसँग गोप्य भेट



यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार वक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका छन् ।

थापाद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’ भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए । 

प्रचण्ड र नेपालद्वारा अस्वीकार

यसैबीच स्रोतका अनुसार गोयलले नेकपाका नेताहरूलाई भेटेका थिए । यस विषयमा चर्चा समेत भएको थियो । तर, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त कुरा अस्वीकार गरेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले वक्तव्य जारी गर्दै उक्त कुरा भ्रामक भएको बताएका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बारेमा केही अनलाइन मिडियाहरूमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, सापकोटाद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपिल गर्दछु ।’

यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन् । उक्त गलत कुराबाट भ्रमित नहुन समेत नेपालका स्वकीय सचिव मोहन गौतमले आग्रह गरेका छन् । वक्तव्य जारी गर्दै गौतमले भनेका छन्, ‘पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ ।’ 

देउवाले पनि नभेटेको स्पष्टीकरण

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको स्पष्टीकरण दिएको छ । देउवाको सचिवालयले पूर्व प्रधानमन्त्री देउवाको रअ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पारेको छ ।

किन गोप्य राखियो भ्रमण ?

काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार नेपाली नागरिक उड्डयन मन्त्रालयसँग कूटनीतिक उडानका लागि अनुमति मागेको थियो । उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमा पुगेपछि मन्त्रालयले तुरुन्तै अनुमति दियो । कूटनीतिक उडानको अनुमति पाएको भारतीय उडान बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएको थियो । 

तर, उक्त उडानमा भारतका को–को कूटनीतिज्ञ आएका थिए भन्ने बारेमा परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन । रक्षा मन्त्रालयसमेत प्रधानमन्त्री ओलीले नै सम्हालेका बेला भारतीय गुप्तचरको भ्रमणलाई सरकारले ‘गोप्य’ राख्नुलाई चासोका रूपमा हेरिएको छ । यस भ्रमणका क्रममा रअ प्रमुख गोयलले काठमाडौंमा क–कसलाई भेटे भन्नेबारेमा पनि परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी दिइएको छैन ।

विदेशीहरू नेपालमा आएर राजनीतिक भेटघाट गर्दा परराष्ट्र मन्त्रालयबाट अनुमति नलिई भेट्न नमिल्ने व्यवस्था छ । अनुमति लिएर भेट गर्दा पनि परराष्ट्र मन्त्रालयको प्रतिनिधिलाई साथमा लिनुपर्ने हुन्छ । पूर्वप्रधानमन्त्रीहरूसँग भेट्दा पनि विदेशीले अनुमति लिनुपर्ने परराष्ट्र मन्त्रालयको आचारसंहितामा छ । तर, यो भ्रमणमा भने, यी सबै कुरालाई बेवास्ता गरेर रअको प्रमुख गोयलले भ्रमण गरेर स्वदेश फिर्ता भइसकेका छन् ।

गोयलले काठमाडौंमा प्रधानमन्त्री ओलीबाहेक अरु क–कसलाई भेटे भन्ने बारेमा सरकारले केही जानकारी दिएको छैन । रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । उक्त टोली बिहीबार दिल्ली फर्किएको छ ।

  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १७:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया