कोरोनाले मादलको व्यापार चौपट

कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहल पहल हुन्थ्यो । साथीभाइ जमघट भएर यतिबेला देउसी भैलो खेल्ने तयारीमा हुन्थ्ये । तर यो वर्ष अवस्था फरक छ । कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन । तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय पनि चौपट बनेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी, भैलो खेल्ने अवस्था छैन । जसको असर मादल व्यवसायमा पनि परेको छ ।

पोहोर वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शून्य भएपछि अहिले फुर्सदमा छन् । त्यसो त अहिले ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन पनि कम हुँदै गएको छ । यद्यपि वसन्तपुर क्षेत्रमा मादलको व्यवसाय गर्दै आएका व्यवसायी रिबो बहादुर कुलु गत वर्षहरुमा ७ सयभन्दा बढी मादल बिक्ने गरेकोमा यो वर्ष व्यापार निकै कम भएको बताउँछन् ।

कोरोना संक्रमणको कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प रहेको उनले बताए । बजार नभए पनि मूल्यमा भने कुनै परिवर्तन नभएको व्यवसायी कुलुले बताए । विगत वर्षहरू जस्तै १ हजार ३ सय रुपैयाँदेखि सुरु भएर मादलको गुणस्तर अनुसार ८, १० हजारसम्मका मादल पाइने उनले बताए ।

यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको बाहाना गर्न पाइने अवस्था भए पनि प्रविधिले भने मौलिक संस्कृतिमाथि नै धावा बोलिरहेको छ । डिजिटल गीत सङ्गीतको कारणले मादल बजाउने परम्परा नै सङ्कटमा पर्न थालेको छ ।

केही वर्षपहिलेसम्म जोर मादल बजाएर आँगनमा देउसी खेल्ने गरेको देखिन्थ्यो तर अहिले समय पनि फेरिएको छ । मादल भन्दा क्यासेट बजाएर देउसी खेल्ने चलनले युवापुस्ता माझ प्राथमिकता पाएको छ । जसका कारण पनि मादलको बिक्री वितरण कम हुँदै गएको छ । युवा पुस्ताबाट आफ्नो मौलिक संस्कृति जगेर्ना हुन नसक्दा व्यापार व्यवसायमा असर त पर्छ नै हाम्रो सभ्यता नै लोप हुने खतरा हुन्छ ।



 



  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १५:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया