नेकपा कुनै पनि हालतमा फुट्दैन : नेता रावल
धनगढीमा प्रेस संगठन कैलालीले आइतबार गरेको पत्रकार सम्मेलनमा नेकपाका नेता भीम रावल । तस्बिर : फरकधार

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरेका छन् । ‘यो पार्टी कुनै माटोको हाँडी जस्तो होइन । कसैले लठ्ठीले फ्याट्ट हानेर फुट्ने होइन । कुनै कमजोर धरातलमा उभिएर पनि बनेको होइन’, नेता रावलले आइतबार धनगढीमा प्रेस संगठन कैलालीले गरेको पत्रकार सम्मेलनमा भने, ‘पार्टी फुट्नलाई महत्त्वपूर्ण आधार हुनुपर्यो, कुनै राजनीतिक विषय हुनुपर्यो । या कुनै सैद्धान्तिक विषय हुनुपर्यो, तब मात्र पार्टी फुट्छ भन्न सकिन्छ । कुनै एक व्यक्तिले चाहँदैमा केही हुँदैन ।’

पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने उनको दाबी छ । उनले भने, ‘पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जानेछ ।’

नेता रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा पार्टीमा देखिएका समस्याहरू माथि घनिभूत छलफल हुने बताए । उनले भने, ‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ, तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था अहिले छैन ।’

नेता रावलले नेकपाका सबै नेता लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिवार्य मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई छुट नभएको बताए । जनमतको कदर गर्नकै लागि भए पनि पार्टी हमेसा एकढिक्का भएर जाने समेत उनले जानकारी दिए ।

‘३ वर्ष बित्दा सरकारको समीक्षा गरेर बाँकी २ वर्षमा अगाडि कसरी बढाउने भन्ने विषयले सरकार फेरबदल गर्ने भनिएको हो । भागबण्डाका लागि होइन’, उनले भने, ‘तर, त्यो विषय कार्यान्वयन प्रक्रियामा अघि नबढेकोमा हाम्रो आपत्ति छ ।’

उनले पार्टीका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदका लागि लडाइँ नगरेको बताए । ‘२०७६ साल मंसिर ४ गते सचिवालय बैठकमा सरकार सञ्चालन पूरा अवधि केपी ओलीले गर्ने र पार्टीको कार्यकारी अधिकार प्रचण्डले गर्ने भन्ने सहमति भएको रहेछ, उहिले सहमति भएको कुरा अहिले आएर प्रचण्डले पदको लडाइँ गरे भन्ने कुरा सुहाउँदैन ।’



नेता रावलले अहिले आवश्यकता नभए किन निर्णय गरिएको भन्दै पत्रकार सम्मेलनमा प्रश्न समेत गरे । उनले भने, ‘फेरबदल नगर्ने भए किन निर्णय गरिएको ? आवश्यक हो भने किन कार्यान्वयन नगरेको ?’ उनले पार्टीका २ अध्यक्षले आफूहरूलाई बेवास्ता गरी अगाडि बढेको आरोप समेत लगाए । पार्टीभित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्रै आ–आफ्नो कुरा अगाडि सारेको बताउँदै बाँकी नेता तथा कार्यकर्तालाई बेवास्ता गरेको आरोप उनको छ ।

नेता रावलले पार्टी फुटाएर कसैलाई फाइदा नहुने बताए । उनले प्रधानमन्त्रीले पार्टी फुटाएर त्योभन्दा ठूलो पद के नै पाउने वा प्रचण्डले योभन्दा ठूलो कुन पार्टीको नेतृत्व गर्न पाउने भन्दै प्रतिप्रश्न गरे । 



उनले थप प्रसङ्गमा बोल्दै प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताका लागि दोस्रो पुस्ता र युवालाई नेतृत्व दिनुपर्ने भाषण गर्दै हिँडेको बताए । ‘बाहिर बाहिर बोलेर हुँदैन बैठकमा प्रस्ताव ल्याउन सक्नुपर्छ, उनले भने पार्टीले निर्णय पारित गर्छ सोही आधारमा क–कसले बिदा लिनुपर्ने हो त्यही दिन लिउँला ।’

  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १८:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया