सर्प देख्दै तर्सिने कमल सर्प संरक्षणमा

दुई साताअघि बेलायतको रुफर्ड नामक संस्थाले कमल देवकोटालाई १० हजार पाउन्ड सहयोग गर्यो । सर्प संरक्षण र त्यससम्बन्धी गरिरहेको अध्ययन–अनुसन्धानको कदर गर्दै उनलाई संस्थाले पुरस्कार स्वरुप सर्प संरक्षणमा काम गर्न उक्त रकम उपलब्ध गराएको हो ।

रुफर्डले २००३ देखि विकासोन्मुख देशमा वन र वन्यजन्तु संरक्षणमा काम गरिरहेका अनुसन्धानकर्तालाई सहयोग गर्दै आएको छ ।

कमलले रुफर्डबाट पाएको यो तेस्रो सहयोग हो । उनले यसअघि २०१६ र २०१७ मा पनि पाँच–पाँच हजार पाउन्डको सहयोग पाएका थिए । रुफर्डबाट सर्प संरक्षणमा पुरस्कृत हुने उनी पहिलो नेपाली हुन् ।

सहयोगका लागि नेपाल जस्ता थुप्रै विकासोन्मुख देशबाट आवेदन पर्छन् । संस्थाले आवेदन दिएकै भरमा कसैलाई सहयोग गरिहाल्दैन । आवेदन सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुको पनि सिफारिस चाहिन्छ । नेपालबाट नास्ट र अन्तर्राष्ट्रिय स्तरबाट दुई वैज्ञानिकले उनले साँच्चिकै राम्रो काम गरेका छन् भनेर सन् २०१६ मा सिफारिस गरिदिए ।

‘पहिलो पटक आवेदन दिँदा मसँग काम गरेको अनुभव थिएन,’ केही दिनअघि अनामनगरमा भेटिएका देवकोटाले फरकधारलाई भने, ‘काम गर्ने योजना थियो । अब योजनाले मात्र देला कि नदेला भन्ने भइरहेको थियो । म काम गर्न सक्छु भन्नेमा विश्वस्त होला कि नहोला भइरहेको थियो ।’

उनले गरेको प्रस्ताव स्वीकृत भयो । सहयोग पाए । रकम पाइसकेपछि यो क्षेत्रमा काम गर्ने उनको उत्साह झनै बढ्यो । सहयोग स्वरुप पाएको करिब सात लाख रुपैयाँले उनले सर्पदंश र संरक्षणको क्षेत्रमा दुई वर्ष काम गरे । त्यस्तै, दोस्रो वर्ष पाएको रकमले फेरि त्यसपछिका दुई वर्ष ।



भर्खरै पाएको १५ लाख नेपाली रूपैयाँबाट उनी सर्पदंश र सर्प संरक्षणसम्बन्धी जनचेतनात्मक कार्यक्रम, तालिम र शैक्षिक भिडियो बनाउने योजनामा छन् ।

‘यो जनचेतानात्मक भिडियोमा सर्पको टोकाइबाट कसरी बँच्ने, टोकिसकेपछि कसरी उपचार गर्ने, विषालु र विष नभएको सर्प कसरी चिन्ने र तिनको कसरी रेस्क्यु गर्ने जस्ता सावधानी र उपचारसम्बन्धी कुराहरु हुनेछन्’, उनले आफ्नो योजना सुनाए ।



यसका लागि उनले योजना र कार्यक्षेत्र निर्धारण गरिसकेका छन् । उनको संस्था ‘नेपाल टक्सिनोलोजी एसोसिएसन’ ले केही दिनपछि नवलपुरमा सर्पदंश संरक्षणसम्बन्धी तालिम दिन लागेको छ, जसमा सर्वसाधारणदेखि धामिझाँक्री र स्वास्थ्यकर्मीहरु सहभागी छन् ।

०००

सर्प संरक्षणका क्षेत्रमा काम गरेकैले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट सहयोग पाइनेछ भन्ने कमलले कहिल्यै सोचेको थिएनन् । कुनै दिन सर्प संरक्षणमा आफू लागौँला भनेर उनले सपनामा पनि चिताएका थिएनन् । सर्पप्रति उनको न रुचि थियो न लगाव नै । बरु सानोमा उनी सर्प भनेपछि डरले भुतुक्कै हुन्थे ।

उनी बुटलवमा जन्मे–हुर्के स्नातकसम्म बुटवलै पढे । स्नातोकोत्तर पढ्न काठमाडौं आए । मास्टर्समा उनले जीवविज्ञानमा स्नातकोत्तर गर्दा ‘थेसिस’ लेख्नुपर्यो । उनलाई एक प्राध्यापकले थेसिसका लागि विषय दिए– ‘बाँदरको दिसामा पाइने प्यारासाइटबारे अध्ययन ।’

उनलाई थेसिसको विषय मन परेन । कारण, यो विषयमा यसअघि नै धेरैले काम गरिसकेका थिए । त्यसपछि उनले यस्तो विषय खोज्न थाले, जुन विषय नौलो होस् । यही क्रममा आफ्नो अध्ययनको विषय बनाए, सर्पलाई ।

‘यो विषयमा मैलेभन्दा अघि केही व्यक्तिले मात्र अध्ययन गरेका रहेछन्’, उनले सुनाए, ‘सर्पलाई लिएर अध्ययन गर्दा राम्रो हुन्छ भनेर एक जना शिक्षकले पनि सुझाउनु भयो ।’

उनको अध्ययनको नाम भयो– पश्चिमाञ्चल विकास क्षेत्रमा सर्पदंशको महामारी । उनले २०११ देखि २०१३ सम्म दुई वर्ष अध्ययन गरे ।

उनले दुई वर्ष नेपालमा पाइने सर्प र तिनका प्रजाति, आनिबानी, बासस्थान आदिबारे अध्ययन गरे । त्यस्तै सर्पदंश व्यवस्थापन र सर्पदंशबाट बँच्न अपनाउनु पर्ने सतर्कताबारे पनि अध्ययन गरे ।

उनलाई थेसिस गर्दासम्म पनि लागिसकेको थिएन– कालान्तरमा गएर मेरो पेसा नै यही हुन्छ । 

उनी त २०६५ सालमा काठमाडौं स्नातकोत्तर पढ्दा आउँदा पनि कलाकार बन्छु भनेर आएका थिए । उनलाई सानैदेखि अभिनयमा रुचि थियो, उनी कलाकार बन्न चाहन्थे ।

काठमाडौं आइसकेपछि उनले कलाकार अनुप बरालसँग अभिनय सिक्न थाले । अहिलेसम्म एक दर्जनभन्दा धेरै रेडियो नाटक, नाटक र सिनेमामा अभिनय पनि गरे ।

उनी अहिले कलाकारिता र सर्प संरक्षण दुवैमा उत्तिकै सक्रिय छन् । र, दुवैमा उत्तिकै रमाइरहेका छन् ।

‘काम गर्दै गएपछि रमाइलो लाग्दै जाँदोरहेछ,’ उनी मुस्कुराउँछन् ।

कला र विज्ञानको समिश्रणबाट जे निस्किन्छ, त्यसमा उनी खुबै रमाइरहेका छन् ।

०००

कमलले आफ्नो कामलाई संस्थागत रुप दिएका छन्, ‘नेपाल टक्सिोनोलोजी एसोसियसन’ सन् २०१७ मा स्थापना गरेर । नवलरपुरमा यसको मुख्य कार्यालय छ । संस्था स्थापनापछि उनले नारा दिए ‘सेभ स्नेक सेक नेचर’ अर्थात् ‘सर्प बचाऔं, प्रकृति जोगाऔं’ ।

नेपालमा सर्पदंशका बिरामीको उपचारमा मिहीन भूमिका खेलेका डा. छविलाल थापा यो संस्थाका अध्यक्ष हुन् । यो संस्थाले सर्पदंशसम्बन्धी जनचेतना, यसबाट जोगिन र टोकिसकेपछि उपचारका विधिसम्बन्धी तालिम र रेस्क्युको सेवा दिँदै आइरहेको छ ।

उनी र उनका सहयोगीहरु कसैको फोन आयो कि रेस्क्युका लागि त्यहाँ पुग्छन् । रेस्क्यु गर्दा उनीहरू कुनै शुल्क लिँदैनन् । भविष्यमा पनि यही रूपमा यसलाई लैजाने योजना उनले सुनाए । 

‘सर्प सामान्यतः विपन्नहरुको घरमा पस्छ । अब उनीहरुको घरबाट रेस्क्यु गरेको पैसा लिने हो भने उनीहरुले हामीलाई कल गर्नै छाड्छन्,’ उनी सुनाउँछन्, ‘कसैलाई बोलाएर सर्प धपाएको पैसा दिनुभन्दा मारिदियो टन्टै सकियो भन्ने धारणा मानिसमा पैदा हुन्छ । यसो हुँदा सर्पको संरक्षण हुँदैन ।’

त्यसो त अहिले केही रेस्क्यु गर्नेहरुले पैसा लिएर काम गरिरहेका छन् । पैसा लिएर काम गर्नुलाई उनी गलत भन्दैनन् । भन्छन्, ‘कोही कोहीले रेस्क्यु गरेको एक हजारजति लिने गरेको सुनेको छु । फोन आएको ठेगानासम्म पुग्न फोन र यातायात खर्च लाग्छ ।’

आज भोलि घरमा मान्छेहरुले रेस्क्यु गर्नुपर्छ भनेर फोन गर्नुहुन्छ । पछिल्ला केही वर्षयता मान्छेले सर्पलाई हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन आएको उनी पाउँछन् ।

‘पहिले पहिले त सर्प देख्यो कि मार्नुपर्छ भन्ने सोच आउँथ्यो । आज भोलि भने थोरै भए पनि सर्पलाई यसै मार्नुहुन्न भन्ने सोच विकसित हुँदै गएको छ’, उनले भने । 

सर्पले टोक्दा त्यसको विरुद्धमा दिइने ‘एन्टिभेनम’ सर्पबाटै निकालिनु, सर्पको विषबाट धेरै किसिमका औषधि बन्नु र पारिस्थितिक पद्धतिलाई सन्तुलित राख्न सर्पले धेरै सहयोग गर्ने कुरा सर्वसाधारणसम्म पुर्याउन सक्नुलाई उनी ठूलो सफलता ठान्छन् ।

नेपालका लगभग सबै जिल्ला घुमेका उनले यहाँ ८३ किसिमका सर्पहरु पाइने बताए । उनका अनुसार नेपालमा १८ किसिमका सर्प मात्र विषालु छन् ।

०००

अनुसन्धानका क्रममा कमलले नेपालमा नयाँ दुई प्रजातिका सर्पहरु भेटेका छन् । उनले भेटेका दुई टाउके ‘ब्यान्डिट कुक्री’ र सेतो रङ्को ‘ल्युसिस्टिक’ संसारमै अन्यत्र कहीं पनि पाइँदा रहेनछन् ।

‘मैले नेपालमा यस्तो–यस्तो किसिमका सर्पहरु भेट्टयाएँ भनेर त्यसको विवरणसहित रिसर्च गेटमा पठाएको थिएँ,’ उनले जानकारी दिए, ‘अन्तर्राष्ट्रिय जर्नलमा संसारमा पाइएका र पाइने सम्पूर्ण सर्पबारे जानकारी हुन्छ । मैले पठाएको सर्प संसारमा कुनै पनि ठाउँमा त्यसअघि पाइएको रहेनछ ।’

उनले दुई टाउके सर्प नवलपरासीमा भेट्टाएका थिए भने ल्युसिस्टिक सेतो रंगको सर्प धनुषामा । धनुषामा भेट्टयाएको पूर्ण रुपमा सेतो रंगको करेत सर्प ‘एब्नर्मल’ रहेछ । एब्नर्मल यसकारण करेत पूर्ण रुपमा सेतो हुँदैन ।

त्यस्तै, दुई टाउका भएको ‘कमन करेत’ सर्प नेपालमा दोस्रो पटक भेट्टयाएका थिए ।

नेपालमा पाइने विभिन्न किसिम र प्रजातिका सर्पहरु ‘एन्टी भेनम’ निर्माणका लागि धेरै सहयोगी हुने पनि उनको बताउँछन् । तर, नेपालमा सरकारी तवरबाट अनुसन्धान र लगानीको अभावका कारण हामी एन्टिभेनम उत्पादन गर्न अक्षम भएको उनको बुझाइ छ ।

‘नेपालमा अहिले निजी क्षेत्रबाट सुन्सरीमा एन्टिभेनम उत्पादन गर्ने प्रयास भइरहेको छ, जुन राम्रो कदम हो,’ उनी भन्छन्, ‘तर निजी क्षेत्रको सक्रियतामा मात्र एटिभेनम उत्पादन गर्न धेरै गाह्रो हुन्छ । यसमा सरकारको पनि प्रत्यक्ष र मिहीन सहयोग हुनुपर्छ ।’

निजी क्षेत्रले सम्पूर्ण आफ्नो लगानीमा भेनम उत्पादन गर्दा महङ्गो हुनसक्ने पनि उनको विचार छ ।

अहिले नेपाल एन्टिभेनमका लागि भारतसँग निर्भर छ । अहिले भारतले चारवटा सर्पका लागि आवश्यक एन्टिभेनम उत्पादन गर्छ । जसमध्ये नेपालमा तीन किसिमका आयत हुन्छन् ।

सरकारको सहयोग भयो भने हामीले आफ्नै देशमा सस्तोमा उत्पादन गर्न सकिने र सर्पको प्रजाति हरेर भेनमको संख्या पनि थप्न सकिने उनको विश्वास छ ।

‘अहिलेसम्म नेपालमा ‘एन्टिभेनम’ उत्पादन गर्ने कुरा सुरुवाती चरणमा छ,’ उनले भने, ‘भनौं न अनुसन्धानकै चरणमा छ । अहिलेको अवस्थालाई हेर्दा त नेपालले आफ्नै देशमा उत्पादन गर्न अझै वर्षौं लाग्छ होला ।’

०००

‘अब निर्माण हुने भिडियोलाई सामाजिक सञ्जालसँगै स्थानीय र राष्ट्रिय टिभीबाट प्रशारण गर्ने योजना छ,’ कमल आफ्नो योजना सुनाए, ‘भिडियो धेरैभन्दा धेरै सर्वसाधारणसम्म पुर्याउने योजना छ ।’

योसँगै कमलको एउटा दीर्घकालीन योजना, अझ भनौं सपना छ । उनले देखेको सपना हो– देशका विभिन्न ठाउँमा सर्पदंशका बिरामी जाँच्ने छुट्टै अस्पताल बनाउने ।

देशभर एकैपल्ट यस्तो अस्पताल बनाउन सम्भव नहुने भएकाले कुनै एक जिल्लामा एउटा अस्पताललाई नमुनाका रुपमा स्थापना गर्दै बिस्तारै देशभर पुग्ने उनको योजना छ ।

तस्बिर कमल देवकाेटाकाे फेसबुकबाट

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १३:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया