उपत्यका भित्रने तरकारीको मात्रा बढ्यो, उपभोक्ताको भान्सा सस्तिने

कोरोनाका भएको लकडाउनसँगै बिग्रिएको आपूर्ति शृंखला विस्तारै सहज हुन थालेको छ । यसको पछिल्लो उदाहरण हो कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय बढेको तरकारी आपूर्ति । बन्दाबन्दी शुरू भएदेखि नै घटेको तरकारीको आपूर्ति बन्दाबन्दी खुलेको लामो समय बितिसक्दा समेत पनि बढ्न सकेको थिएन । तर, विगत एक सातादेखि आपूर्ति प्रणालीमा विस्तारै सुधार आउन थालेको छ । यसको प्रत्यक्ष प्रभाव आम सर्वसाधारणको भान्सासम्म पर्ने गर्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बन्दाबन्दी शुरू भएपछि कालीमाटीमा दैनिक सरदर ४ सय टनमात्र तरकारी भित्रिने गरेकोमा पछिल्लो केही दिनदेखि सुधार हुँदै आएको छ । 

विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले तिहारपछि तरकारी तथा फलफूलको आपूर्तिमा सुधार हुँदै गएको बताए । उनका अनुसार तिहारपछि कालीमाटीमा काउली, गोलभेँडा, आलु लगायत तरकारी भित्रिने क्रम बढेको छ ।

बन्दाबन्दीको समयमा काठमाडौं छाडेर बाहिर गएका मानिस तिहार र छठ सकिएलगत्तै काठमाडौं प्रवेश गर्ने दर बढेकाले आफूहरूले पनि तरकारीको आपूर्ति बढाएको व्यवसायीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले तिहारपछि तरकारीको खपत बढेसँगै आपूर्ति पनि बढाइएको बताए । आपूर्ति बढ्नुको अर्को कारण आन्तरिक उत्पादन बढ्नु पनि रहेको उनको भनाइ छ ।

बन्दाबन्दीका कारण लामो समयसम्म होटल, रेष्टुराँ, स्कुल, कलेज तथा होस्टेलहरू बन्द हुँदा तरकारी खपत घटेको थियो । यद्यपि हाल यो अवस्थामा सुधार हुँदै गएको छ ।

भारतीय बजारमा आलुको मूल्य बढेपछि कात्तिक पहिलो सातादेखि नेपालमा पनि आलुको मूल्य उकालो लाग्न थालेको थियो । यद्यपि त्यसबेला व्यापारीले स्थानीय आलु बजारमा आउन थालेपछि मूल्य घट्ने बताएकोमा हाल नेपालको आन्तरिक आलु बजारमा आइसक्दा पनि मूल्य खासै घटेको छैन ।



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यतिबेला स्थानीय रातो आलुको थोक मूल्य प्रतिकिलो ८८ रुपैयाँ छ । यो मूल्य गतवर्षको यही अवधिको तुलनामा करीब ९६ प्रतिशत बढी हो । गतवर्षको यही अवधिमा रातो आलुको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ थियो ।



  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १३:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया