मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन

नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानुनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । 

प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने, ‘पहिलेदेखि लागू हुँदै आएको सुरक्षा योजनालाई अझै कडाइका साथ पालना गर्न भनिएको छ, सुरक्षा चुनौती विश्लेषण गरेर संयुक्त रूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिने गरी निर्देशन भएको छ ।’

यही मंगलबार मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको बर्बतापूर्ण तरिकाले हत्या भएको थियो । उक्त हत्यामा नेत्रविक्रम चन्द समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । घटना भएको भोलिपल्ट बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो । उक्त ब्रिफिङ नियमित भएको गृह प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यसअघि सो समूह विभिन्न भौतिक संरचनालाई क्षति पुर्याउन विष्फोट गराउने क्रियाकलाप गर्नमा बढी उद्यत थियो । उपत्यकामा बम पड्काउने क्रममा केही सर्वसाधारण र केही आफ्नै कार्यकर्तासमेत मारिएका थिए । गतिविधि आपराधिक हुन थालेपछि सरकारले ०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो । यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारबाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् ।

प्राप्त विवरणअनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । ४६ जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । यस बीचमा चन्द समूहबाट प्रहरीले ४३ वटा पेस्तोल, विभिन्न हतियारमा प्रयोग हुने ५०० राउण्डभन्दा बढी गोली, दुई रिभल्बर, तीन थ्रीनट थ्री, एक–एक थान एसएलआर र एलएमजी, एम–१६ र सात एसएमजी बरामद गरिसकेको छ । 

यस्तै प्रहरीले दुई प्रेसर कुकर बम, आठ सुतली बम, २३ सकेट बम, ३८ हाते ग्रिनेट, २१० थान डेटोनेटर पनि बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १६:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया