विद्यालयमा कोरोनाको जोखिम बढ्यो
कोरोनाको कहर बीच सञ्चालनमा आएको वीरेन्द्रनर १३ मा रहेका नेपाल राष्ट्रिय सामुदायिक विद्यालय । तस्बिर : फरकधार ।

कोरोना भाइरस संक्रमणको जोखिम पछिल्लो समय विद्यालयहरूमा देखिन थालेको छ । लामो समयको बन्दपछि सञ्चालनमा आएका विद्यालयका शिक्षक, विद्यार्थीहरूमा कोरोना देखिन थालेको हो । सुर्खेतको पञ्चपुरी नगरपालिका–२ पलैटेमा रहेको सूर्य प्रकाश माविमा ११ जना शिक्षकमा कोरोनाको संक्रमण देखिएको छ ।

यस्तै सोही नगरको विद्याज्योति मावि बाबियाचौरका दुईजना शिक्षक पनि संक्रमित भएका छन् । आइतबार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरू सहित १६ जना शिक्षकमा संक्रमण देखिएको हो ।

जसमा दुई जना सुर्खेतकै गुर्भाकोट नगरपालिका–१२ मा रहेको नेपाल राष्ट्रिय माविमा शिक्षक रहेका छन् । एक जना वीरेन्द्रनगर नगरपालिकाका शिक्षक रहेका छन् । उनको विद्यालयको नाम खुलेको छैन । आइतबार नै वीरेन्द्रनगरका २ जना विद्यार्थीमा संक्रमण देखिएको छ ।

संक्रमित देखिएका विद्यालय बन्द गरिएको छ । पञ्चपुरी नगरपालिकाले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ तथा लक्षण देखिएकाहरूको परीक्षण गर्ने भन्दै एक साताका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकाका सूचना अधिकारी चूडामणि कँडेलले लक्षण देखिएका र नजिकको टन्ट्याक्ट ट्रेसिङमा परेका शिक्षक विद्यार्थीको कोरोना परीक्षण गरिने बताए ।

यता गुर्भाकोट नगरपालिकाले अर्को सूचना जारी नभए सम्मका लागि विद्यालय बन्द गरेको छ । नगर शिक्षा शाखा प्रमुख पदम विकले कोरोना संक्रमण देखिएको विद्यालयका लक्षण देखिएका शिक्षक, विद्यार्थीको कोरोना परीक्षण गर्ने बताए । उनीहरूको परीक्षणपछि विद्यालय सञ्चालन गर्ने उनको भनाइ छ ।

एक साताअघि गुर्भाकोट नगरपालिकामै रहेको जनसेवा आधारभूत विद्यालयका २ जना शिक्षकमा कोरोना देखिएको थियो । नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङपछि संक्रमित शिक्षकलाई आइसोलेसनमा राखेर विद्यालय सञ्चालन गरेको जानकारी दिएको छ । यसअघि स्थानीय तहले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई अनुमति दिएका थिए ।



स्थानीय तहको अनुमति पश्चात कर्णालीका धेरै जसो विद्यालय मंसिरको पहिलो साताबाट सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनमा आएसँगै कोरोना संक्रमण पनि देखिन थालेको हो । शनिबार सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय मावि किमुचौरका ६ जना शिक्षकलाई कोरोना देखिएको छ । शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द गरिएको छ ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले लक्षण देखिएका शिक्षक विद्यार्थीको कोरोना परीक्षणपछि विद्यालय पुनः सञ्चालन गर्ने बताए । गएको मंसिरको पहिलो साता हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माविका ३२ जनाभन्दा बढी विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कोरोना देखिए यता हुम्लाका विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । 



विद्यालय शिक्षक विद्यार्थीको भिडभाड हुने क्षेत्र भएकाले पनि जोखिम बढ्दै गएको छ । अहिले अन्य क्षेत्रभन्दा विद्यालयमा कोरोनाको जोखिम बढेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृष शाहीले बताए ।

‘अहिले अन्य क्षेत्रभन्दा विद्यालयमा कोरोना देखिएको छ,’ उनले भने, ‘अन्य धेरै विद्यालयको जाँच भएको छ । तर रिर्पोट आउन बाँकी छ । हामीले विद्यालयमा परीक्षणलाई नै प्राथमिकतामा राखेका छौं ।’ आवश्यकताका आधारमा कर्णाली प्रदेशका अन्य विभिन्न क्षेत्रका विद्यालयमा कोरोना परीक्षण गरिने उनको भनाइ छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १९:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया