प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाइयो
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । पार्टीको प्रचण्ड–माधव समूहले राईलाई हटाएर भीमप्रसाद आचार्यलाई संसदीय दलको नेताका रूपमा चयन गरेको दलका उपनेता टंक आङ्बुहाङले जानकारी दिए ।

संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएको र आचार्यलाई नेताको रुपमा चयन गरिएकोबारे प्रदेशसभा सचिवालयमा जानकारी गराइएको पनि उनले बताए । दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइएको पत्रमा ३६ जना सांसदले हस्ताक्षर छन् ।

मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाइएको जानकारी पत्र संसद सचिवालय प्राप्त भएको सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बुधबार बसेको बैठकले दलको नेताबाट राईलाई हटाएर बहुमत सदस्यले भीम आचार्यलाई दलको नेतामा चयन गरेको पत्र बिहीबार बिहान दर्ता भएको हो । 

यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सांसद कला घले अहिले ओली पक्षमा लागेकी छन् ।

मुख्यमन्त्रीलाई पनि उक्त पत्र कुरियर गरेर पठाइएको र प्रदेश प्रमुखको कार्यालयमा पनि दर्ता गरिएको दलका उपनेता आङ्बुहाङले जानकारी दिए । 





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १४:११:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया