जहाँ आफ्नै खेतबारीमा जान भारतीयसँग अनुमति लिनुपर्छ

कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका किसानले बारीमा जान भारतीयको अनुमती लिनुपर्छ। पछिल्लो २ सातायता भारतीय एसएसबीले सडकघाटस्थित ३४ र ३५ नम्बर पिल्लर रहेको दशगजा क्षेत्रका नेपाली किसानलाई आफ्नै खेतमा प्रवेश गर्न रोक लगाएको थियो।

शनिबार भारतीय पक्ष र नेपाली पक्षबी छलफलपछि मात्रै नेपाली किसान आफ्नो खेतबारीमा प्रवेश गर्न पाएका हुन्।

एसएसबीले सडकमा हिड्न समेत रोक लगाउँदा किसान बारीमा पुग्न पाएका थिएनन्। किसानहरूको  उखु खेतमै सुक्न लागेको थियो।  तोरी नास हुन थालिसकेको थियो।  

नेपाल–भारत सीमा क्षेत्रमा नेपाली किसानहरुले प्रयोग गर्दै आएको बाटोलाई नो मेन्सलेण्ड हो भन्दै भारतीय एसएसबीले नेपाली किसानलाई रोक लागाएको थियो। 

एसएसबीले दसगजा क्षेत्रको बाटो कसैलाइ पनि प्रयोग गर्न नदिने भन्दै किसानको उखु ढुवानीमा रोक लगाएको बिओपी भुडाका सशस्त्र प्रहरी निरीक्षक गोबिन्द थापाले जानकारी दिए। 

नेपाल–भारत सीमा दसगजा (नो मेन्सलेण्ड) को यकीन नभएका बेला भारतीय पक्षले एकलौटीरुपमा रोक लगाउनु हेपाहा प्रवृत्ति भएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लब राज भट्ट बताउँछन्।  



‘दुवै देशबीच भएको सम्झौता अनुसार सिमांकनबारे पूर्ण सहमति भइ कार्यान्वयन नहँुदासम्म जुन रुपमा प्रयोग भएको छ, त्यही रुपमा प्रयोग गरि राख्ने भनिएको छ’ भट्टले भने। सडकघाट, भुडा क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने सीमा झन्डै १५० मिटर भारततिर पर्ने देखिएको छ। यसर्थ अहिले भनिएको नो मेन्सलेण्ड यहि हो भन्न नसकिएको उनको भनाइ छ। 

कानुन अनुसार दुवै पक्षले नो मेन्सलेण्ड प्रयोग गर्न नपाउने भएता पनि हालसम्म चलिआएको बाटोमा कृषि कार्यका लागि सहज गरिनु पर्ने स्थानीय किसान गोपाल पन्त बताउँछन्।



पन्तले भारतीय एसएसबीको ज्यादतीपूर्ण व्यवहार भएको भन्दै छिटो भन्दा छिटो यसको निकास निकाल्न नेपाल सरकारसमक्ष माग गरको छन्। 

भारतिय सीमा सुरक्षा बल एसएसबीले केही दिनअघि मात्र त्यहाँ अस्थायी बिओपी स्थापना गरेको थियो। स्थानीयले विरोध गरी उक्त बिओपी हटाउन लगाएका थिए। त्यसैको रिस साध्न किसानलाई रोक लगाएको पन्तको भनाइ छ। 

भारतीय एसएसबीले नेपाली पक्षलाई अवरोध गरेको यो पहिलो घटना भने होइन। बेलौरी नगरपालिका–८ मा निर्माणाधीन हुलाकी सडक खण्डमा समेत एसएबसीले पटक–पटक अवरोध गर्दै आएको छ। सीमा क्षेत्रमा आवतजावत गर्दा नेपालीमाथि ज्यादती गर्ने गरेको दर्जनौँ घटना छन्। 

गत साउनमा मात्रै भीमदत्त नगरपालिका–९ ब्राम्हदेवमा दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा चार मुक्तहलिया परिवारले घर  बनाउन खोज्दा एसएसबीले रोक लगाएको थियो। 

यसअघि गत पुस २० गते सीमावर्ती क्षेत्र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा भारतीय पक्षले चलाएको गोली लागेर एक युवक घाइते भएका थिए। मंसिरमा भारतीय दुधुवा नेशनल पार्कमा कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल राना गोली लागेर मृत भेटिएका थिए।

यसो हुनुको मुख्य समस्या खुला सीमानाका रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो बताउँछन्।  सीमाको विषय संवेदनशील हुने भएकाले विभिन्न घटनालाई उत्तेजित नभएर, बल प्रयोग नगरेर समाधान गर्ने गरेको उनले जानकारी दिए।

भारतीय एसएसबीका कारण कञ्चनपुरका सीमावर्ती क्षेत्रका बासिन्दा सधैँ सास्ती खेप्न बाध्य छन्। समस्या समाधानमा नेपाल सरकार गम्भीर नबनेको उनीहरुको गुनासो छ। 
 

  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १०:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया