बेरुजु फर्छ्‍योट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

आर्थिक वर्ष ०७६/७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये ९५.४६ प्रतिशत फर्छ्‍योट गरी बेरुजु फर्छ्‍योट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णयमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको जनाइएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बेरुजु फर्छ्‍योट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने प्रहरी अधिकृतहरुलाई सम्मान गरे । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा क्षत्रीले ८ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान  गरे । पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बल बहादुर बस्नेत रहेका छन् । 

त्यस अवसरमा प्रहरी महानिरीक्षक थापा क्षत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्छ्‍योटमा लगन र मिहिनेत साथ काम गर्ने प्रहरी कर्मचारीहरुप्रति आभार व्यक्त गरे । यस कार्यमा पूर्व प्रहरी महानिरीक्षकहरु सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उनले स्मरण गरे । 

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्‍योट गर्ने वार्षिक लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी फर्छ्‍योट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

बेरुजु फर्छ्‍योट मापनको वर्गीकरणमा ०७३/७४, ०७४/७५ र ०७५/७६ गरी ३ वटा आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १९:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया