नयाँ पुस्ता
सपनाका लागि इज्जत लगानी गर्न सक्दिनँ

बुवा बित्नु भएपछि मेरो यात्रा जहाँको त्यहीँ रोकियो । कुराकानीको सुरुवातमै गायिका विना भट्टराईले मन थाम्न सकिनन्, गह भरि आँसु भए । विनालाई गीत/संगीतमा सपना देखाउने नै उनका बुवा-आमा थिए ।

विनाकी आमा (अम्बिका भट्टराई) ले सानैमा गीत गाउने सपना सँगालेकी थिइन् । त्यतिबेला गीत गाउनेलाई परिवार र समाजले गाइने भनेर हेप्थे ।

त्यसमा पनि छोरीमान्छे कसरी समाजसँग विद्रोह गरुन् ? उनका सपना मनमै कुण्ठित भए । सानैमा बिहे गरेकी अम्बिकाले घाँस दाउरा र मेलापात जाँदा आफ्ना रहर पूरा गरिन् । छोरीको आगमनसँगै उनले आफ्ना सपना छोरीमा सारिन् ।

विनाले आफ्नो भविष्यको कुनै सपना बनाउन नपाउँदै ‘तिमी गायिका बन्नु पर्छ’ आमाले भनेकी थिइन् । विनालाई त्यो बाटो आफैंमा पृय लाग्यो पनि ।
स्कुलका कार्यक्रमहरुमा गाएरै सधैं पहिलो पुरस्कार थाप्थिन् ।

अहिले विनाले हिँडेको बाटो भन्नु नै उनकी आमा अम्बिकाले देखाएको बाटो हो ।

विनालाई गायिका बनाउन आमा अम्बिकाले शारीरिक तथा मानसिक रुपमा ठूलो संघर्ष गरेकी छन् । छोरीलाई लिएर घाँस काट्न गएकी अम्बिका घाँसको डोकोमाथि उनलाई बोकेर गीत गाउँन सिकाउँदै फर्कन्थिन् । पुराना गीतका लयमा नयाँ गीत लेखिदिन्थिन् । विना त्यही गीत बोकेर प्रतियोगितामा सामेल हुन्थिन् र प्रथम हुन्थिन् । उनकी आमा हर्षका आँसु झार्दै छोरीका पुरस्कार जतनले राखिदिन्थिन् ।



विनाले एसएलसी दिएपछि अम्बिकाले छोरीलाई गायिका बनाउन काठमाडौं पठाइन् । त्यतिबेलासम्म उनको सपना गायन बनेकै थिएन । विना झोलाभरि आमाका सपना बोकेर राजधानी पसिन् । काठमाडौं आएर ललितकलामा संगीत सिक्न थालिन्, अग्रज कोही नचिनेकाले लामो समय उनी अन्योलमा रहिन् । उनले सुनाइन्, ‘छिट्टै गायिका बनेर ममीलाई खुसी पार्नु थियो नि त । अग्रज चिनेको भए उहाँहरूबाट आइड्या लिन सक्थे होला भन्ने कुराले मन काँटिरहन्थ्यो ।’

ललितकलामा पढ्दा पढ्दै उनी सुरसंगीत पाठशालामा चण्डी गुरुसँग संगीत सिक्न थालिन् । सुरसंगीत पुग्दा भने गायन विनाको आफ्नै सपना बनिसकेको थियो । त्यहीँ गएपछि हो, उनले रेडियोमा गीत सुनेका गायक गायिकाहरूलाई देखेको । विनाले सुरसंगीतमा गएपछि पहिलो पटक रेखा शाह, शिव परियार, प्रमोद खरेल लगायतलाई भेटिन् र त्यहीँ भेटिन् संगीतकार तथा गायक मीन गुरुङलाई पनि । मीनले विनालाई सपनाको बाटोमा हिँड्न केही सहज बनाइदिए ।



२०६५ सालतिर विनाले पहिलो पटक गीत रेकर्ड गराउने भइन् । मीन गुरुङले विनाको स्वरको नेचर हेरेर संगीत गरिदिए । गीत उर्बशी थापाले लेखेकी थिइन् । ‘झुक्याएर पासो थापी’बोलको गीत रेकर्ड गराउन उनका बुवाले गोठको लैनो भैंसी बेचेर पैसा पठाइदिए । विनाले गीत रेकर्ड गराइन् । गीत सोचेजस्तो सफल भएन । तर, उनका बुवाले छोरीको गीत सुने । आमाले आफ्नै छोरीले गाएको गीत रेडियोमा सुनिन् ।

गायनका सुरुका दिनमा विनालाई निक्कै गाह्रो भयो, यहाँको बाटो हिँड्न । एक त नयाँ ठाउँ । न स्टुडियो बाटो थाहा थियो ? न चिनजानका आफन्त नै । उनका बुवा-आमाले विनाले गीत गर्छु भनेपछि कहिले गोरु बेचेर, कहिले आमाको बिहेका गहना बेचेर पैसा त पठाइदिन्थे । तर, पैसाले मात्रै कहाँ हुने रहेछ र ? विनाले राम्रो गीत पाउँदिनथिन् । गीत निकाल्यो मिडियामा स्थान पाउँदिनथिन् । उनले भनिन्, ‘पहिलाको जस्तो गीत रेडियोमा बजेपछि सबैले सुन्ने भन्ने नहुने । राम्रो गीत मात्रै भएर भएन ।

प्रचार पनि राम्रै चाहिने । राम्रो प्रचार गर्न नसक्दा गीत गाएर पनि गायिका भनेर आफूलाई चिनाउन सकिनँ ।’

विनाले थुप्रै संगीतकारका हिट गीतमा डमी भरेकी छन् । उनीहरुले यो गीत तिमीलाई नै दिन्छु भनेर डमी गाउन लगाए । एकै दिनमा ३/४ वटा सम्म गीतका डमी गाएर राति अबेर घर फर्किन्थिन् । रातभरि सोच्थिन्, ‘यति धेरै डमी गाएको छु, एउटा गीत त मेरो भागमा कसो नपर्ला ?’ उनी संगीतकारको फोनको बाटो हेरिरहन्थिन् ।

संगीतकारको फोन त आउँथ्यो तर फेरि अर्को डमी गाउन । उनले डमी भरेका गीत नाम चलेका गायक गायिकाले गाइसकेका हुन्थे । पछि तिनै गीत युट्युबको ट्रेन्डिङ हुँदै करोड कल्बमा प्रवेश गर्थे । विना रातभरि रुन्थिन् । धेरै गीतमा डमी गाएकी विनाको आवाज अरुले कपी गरिसक्थे । विनाको गीत बजारमा आउँदा सुन्नेले भनिदिन्थे, ‘विनाको स्वर त फलानो गायिकाको जस्तो ।’

उनी भन्छिन्, ‘अहिलेको पुस्तासँग सपना पूरा गर्ने पैसा त होला । पहिलाको पुस्ताले जस्तो सपना पूरा गर्ने बाटोमा अभिभावकको साथ नपाउने भन्ने पनि कमै हुन्छ । तर, सबैले आफैंले प्रवेश गरेको क्षेत्रका अग्रजको राम्रो सुझाव पाएका छैनन् । मार्गदर्शन पाएका छैनन् । आफूले काम गर्ने फिल्डका सबै मान्छे राम्रा हुँदैनन् । कयौंले कयौं अवस्थामा आफ्नो करिअरका लागि विभिन्न खाले हिंसाको सिकार बन्नु परेको छ । जानी-नजानी म आफैं पनि कतिपय ठाउँमा नराम्रो हेराइको सिकार भएकी छु ।’

उनले अगाडि थपिन्, ‘यहाँ त म जस्तो सिम्पल मान्छेलाई ठाउँ पाउँन निक्कै गाह्रो रहेछ । यहाँ धेरैथरी सोच भएका मान्छेसँग ठोक्किनु पर्ने रहेछ । सबै नराम्रो सोच भएका मात्रै पनि छैनन् । तर, एक ठाउँमा मात्रै गलत सोच भएका मान्छेसँग ठोक्किएपछि आफ्नै आत्मविश्वास पनि घटेर जाने रहेछ । सपनाका लागि सम्पत्ति लगानी गरेर मात्रै पुग्दैन रहेछ । इज्जत लगानी गर्न सकिँदैन ।’

विना सांगीतिक बजारमा आफ्नो नाम बनाउन संघर्षरत छन् । पछिल्लो समय उनको एउटा गीत बजारमा आयो । ‘सुन्तलाको फूल’ गीत रेकर्ड गर्ने भएपछि उनले बुवालाई सुनाएकी थिइन् । उनका बुवा निक्कै उत्साहित थिए । गीत रेकर्ड र म्युजिक भिडियो निर्माणका लागि गत असारमा उनका बुवाले विनाको अकाउन्टमा पैसा जम्मा पनि गरिदिएका थिए ।

तर, दुर्भाग्य गीत रेकर्ड हुनु अगावै विनाको बुवाको देहावसान भयो । ३ महिनासम्म उनी घरबाट निस्किन सकिनन् । उनले गीत संगीतको बाटो नै छोड्न चाहिन् । तर, उनकी आमाले फेरि भनिन्, ‘तिमी मेरी छोरी हौ भने तिमी छिट्टै आफ्नो लयमा फर्क’, आमाले हिम्मत दिइन्, ‘म छु नि तिमीसँग ।’ आमाको हिम्मत बोकेर पुनः ३ महिनापछि काठमाडौं फर्किएर विनाले गीत गाइन् । म्युजिक भिडियो बनाइन् ।

कुराकानीको अन्त्यतिर विना फेरि भक्कानिइन्, ‘मैले यो खुसी बुवालाई देखाउनै पाइनँ ।’ उनलाई सम्हालिन निकै समय लाग्यो ।

गीत सोचेजस्तो चलेन । तर, अहिले उनको म्युजिक भिडियोमा खेलेका कलाकार अन्तर्वार्तामा देखिन्छन् । विनाले त्यो अन्तर्वार्ता आइसकेपछि थाहा पाइन्, ‘मिडियाले पनि किन यसरी हेप्छ हामी नयाँ कलाकारलाई ?’ यहाँका यी र यस्तै कुराले गर्दा विनालाई घरिघरि लाग्छ अब यो बाटो छोडेर झापातिरै फर्किजाउँ । फेरि आमाले भनेको एउटै वाक्य सम्झिन्छिन्, ‘तिमी मेरी छोरी हौ भने तिमीले म्युजिकमा केही गर्नु पर्छ ।’

  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार ९:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया