प्रेम राईको वाचा : पूर्वाग्रह राख्दिनँ, अख्तियारलाई सुशासनको रोल मोडल बनाउँछु

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएपछि उनले टंगाल पुगेर काम सुरु गरेका हुन्। 

उनले पदभार ग्रहणपछि अन्य आयुक्त र कर्मचारीको उपस्थितिमा मन्तव्य राख्दै अख्तियारलाई सुशासन क्षेत्रको रोल मोडल बनाउने वाचा गरे। 'अख्तियारलाई सुशासनको क्षेत्रमा रोल मोडल बनाउन कसैसँग कुनै आग्रह पूर्वाग्रह नराखी  रातदिन खटेर परिणाम निकाल्ने प्रतिवद्धता जनाउँछु', स्वागत कार्यक्रममा निर्देशनसहितको मन्तव्य दिँदै उनले भनेका छन्,  'आयोगको साखलाई अझ उचाइमा पुर्‍याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने आजको आवश्यकता हो।'

आयोगका पदाधिकारी र कर्मचारीहरूले आफुलाई गरेको स्वागतप्रति धन्यवाद दिँदै मुलुक र जनताप्रति इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने वाचा उनले गरे। 'विगतमा आयोग तथा सार्वजनिक प्रशासन अन्तर्गत विभिन्न निकायमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्छु,' उनले भने, 'आमनेपाली  र नागरिक समाजको आयोगप्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च छ। उक्त चाहना र भावना बमोजिम काम गर्ने चुनौती आयोगलाई छ।'

राईले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 'आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा आयोगलाई नयाँ उचाइमा पुर्‍याउन क्रियाशील हुन्छु', उनले भने, 'यस अभियानमा सबै सरोकारवालाहरुको साथ सहयोग रहने विश्वास लिएको छु।'

कार्यक्रमकै क्रममा  आयुक्त डा. सावित्री थापा गुरुङले नवनियुक्त माननीय प्रमुख आयुक्त र आयुक्तहरूलाई स्वागत गर्दै आयोग पूर्ण समावेशी भएकाले आगामी दिनमा आयोग आफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी हुने विश्वास जनाइन्। 

नवनियुक्त आयुक्त जय बहादुर चन्दले राज्यको लक्ष्य भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा सामूहिकताका साथ काम गर्नुपर्ने कुरामा जोड दिए। उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने काममा सहयात्री हुन पाउँदा गौरवान्वित महशुस गरेको बताए। 



अर्का आयुक्त किशोर कुमार शिलवालले आयुक्तको रुपमा आफ्नो भूमिका समन्वयकारी रहने बताए। आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई परम्परागत अपराधभन्दा फरक तरिकाले हेर्नुपर्ने कुरामा उनले जोड दिए। 




  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १८:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया