ईश्वर पोखरेल भन्छन् : केपी ओली जहाँ, सूर्य चिन्ह त्यहाँ
बन्दको क्षतिपूर्ति सरकारले दिने बचन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल-नेपाल नेकपाको बन्दका क्रममा भौतिक क्षति भएका नागरिकलाई सरकारले क्षतिपूर्ति दिने बताएका छन्। नेकपा ओली पक्षका नेतासमेत रहेका उनले दाहाल-नेपालको सत्तामोहकै कारण देशमा राजनीतिक संकट चुलिएको पनि आरोप लगाएका छन्। 

'दाहाल-नेपालको सत्ता स्वार्थका कारण देशमा राजनीतिक अस्थिरता चुलिएको छ', उनले नारायणहिटी सङ्ग्रहालय अगाडि आयोजित जनसभालाई शुक्रबार सम्बोधन गर्दै भने, 'हामी जुनसुकै प्रतिकूलतासँग जुधेर देशलाई राजनीतिक स्थायित्वको बाटोमा लैजाने छौँ।'

दाहाल-नेपालप्रति कटाक्ष गर्दै पोखरेलले उनीहरु कसैको मृत्युमा जीवन खोज्ने र त्यसलाई साथ दिने कुण्ठा र इर्श्यामा रमाउनेहरु भएको बताए। 'हिजोदेखि कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हावी हुँदै आयो। उनले अरुको मृत्युमा जीवन खोजिरहे', पोखरेलले भने, 'प्रचण्डको त्यो प्रवृत्तिलाई साथ दिन कुण्ठा र ईर्श्यामा बाँचेका माधव नेपाल प्रवृत्ति पनि मिसिए। त्यहीकारण आज देशमा राजनीतिक अराजकता र अस्थिरता बढाउन खोजियो । यस्ता अराजक गतिविधिलाई हामी कुनै हालतमा असफल बनाएर छाड्छौँ।'

बिहीबार दाहाल-नेपाल समूहले गरेको आमहड्तालका क्रममा भएका भौतिक क्षतिबाट पीडितलाई सरकारले दिने वाचा पनि उनले गरे। 'बन्दमा नाममा अराजकहरुले एकजना मजदुरको ट्याक्सी जलाएछन्। तर त्यो ट्याक्सीको क्षतिपूर्ति सरकारले दिनेछ', उनले भने, ‘नेपाल बन्दको नाममा जनतालाई दु:ख दिनेहरु अराजक हुन्। त्यस्तो अराजकताको म भर्त्सना गर्छु। हिजो ट्याक्सी चलाएर जीविका चलाउनेमाथि हमला गरियो। म मन्त्रीका रुपमा यसै सभाबाट सरकारले यसको क्षतिपूर्ति प्रतिवद्धता जनाउँछु।'

पोखरेलले ओली जहाँ सूर्य चिन्ह त्यहीँ हुने पनि बताए। 'जहाँसम्म सूर्य चिन्हको कुरा छ। सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले पाउनेछ, यसमा द्विविधा नराख्नु होला', उनले भने, 'सूर्य चिन्हसहित हामी ताजा जनादेशमा जाने छौं।'





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १४:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया