कोरोना खोप प्रभाव : एन्टीबडी पोजेटिभ देखिएपछि उत्साहित डा. अनुप बास्तोला
के हो आइजिएम र आइजीजी एन्टीबडी?
फरकधार / २६ माघ, २०७७

नेपालमा सोमबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको दोस्रो चरणमा प्रवेश गरेको छ।



माघ १४ गतेबाट सुरु पहिलो चरणको अभियान २४ गतेसम्म चलेर सकियो। पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी र संक्रमणको जोखिममा रहेका फ्रन्टलाइनरले खोप लगाए। 

अक्फोर्ड युनिभर्सिटीसँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई)ले बनाएको कोभिशिल्ड खोप नेपालले अनुदानमा ल्याएको थियो। 

यसको प्रभावकारिता ७० प्रतिशत रहेको उत्पादक कम्पनीको दाबी छ। भारतमा यो खोप लगाएका केही वृद्ध र दीर्घ रोगीको मृत्युको खबर आएपछि भारत र नेपालकै सर्वसाधारण पनि हिचकिचाइएको देखिन्छ। 



पत्रकारलाई खोप

सोमबारबाट सञ्चारकर्मी र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको छ। नेपाल निजामती अस्पतालमा सञ्चारकर्मीका लागि खोप केन्द्र तोकिएको छ। 

सोमबार निजामती अस्पतालमा खोप लगाउने पत्रकारको संख्या पातलो थियो। कोरोना खोप लगाउनुअघि दुई खालका सन्देह देखिएका छन्। 

पहिलो : खोपले प्रभावकारी काम गर्छ वा गर्दैन ? 
दोस्रो : यसको ‘साइट इफेक्ट’ले थप समस्या निम्त्याउने डर।

अभियानको सुरुमै नेपालमा चिकित्सकहरुले लगाइसकेकाले पत्रकारहरू पनि ढुक्क देखिन्थे। नेपालमा अहिले खोप लगाएका सबैमा कुनै गम्भीर समस्या देखिएको छैन। थोरै डर भए पनि यसले ठूलो समस्या नहुने विश्वास उनीहरुमा थियो।  

कोरोना खोपप्रति पूर्ण विश्वास पैदा हुन नसकिरहँदा टेकु अस्पतालका प्रमुख कन्सलटेन्ट डा.अनुप बाँस्तोलाले आफूमा कोरोना खोपले काम गरेका देखिएको बताएका छन्। 

माघ १४ गते नेपालमा कोरोना खोप अभियान सुरु हुँदा पहिलो खोप टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले र डा. बाँस्तोलाले लगाएका थिए। 

खोप लगाएको तेह्रौं दिनमा परीक्षण गर्दा आफ्नो शरीरमा भाइरस प्रतिरोधी एन्टीबडी बनेको बाँस्तोलाले बताएका छन्। सोमबार आरडिटी परीक्षण गर्दा आइजिएम बलियो अवस्थामा पोजेटिभ देखिएको बाँस्तोलाले जानकारी दिए। 

‘खोप लगाएको २ हप्तामा आइजिएम एन्टीबडी बलियो हिसाबले पोजिटिभ आयो’, डा. बाँस्तोला भन्छन्, ‘अहिले जुन हिसाबले आइजिएम बनेको छ, दोश्रो खोपपछिको केही हप्तामा आइजीजी बलियो हिसाबले बन्ने पक्का छ।’

खोप लगाएकाहरुको शरीरमा आइजीजी बनेपछि विश्वभर फैलिएको कोरोना र अन्य केही भेरियन्टसँग जोगिने पक्का भएको उनको ठहर छ। कोरोना खोपले काम गर्ने कुरामा उत्साहित बन्न डा. बाँस्तोलाले आह्वान गरेका छन्। 

गत वर्ष नेपालमा कोरोना भाइरस देखिएपछि लगातार गरिएको पिसिआर एन्टीबडी परीक्षणमा आफूलाई कहिल्यै पोजेटिभ रिपोर्ट नदेखिएको डा. बास्तोलाले जानकारी दिएका छन्। नेपालको कोरोनाको पहिलो केस देखिएदेखि नै बास्तोला नियमित संक्रमितको उपचारमा खटिरहेका छन्। 

‘धेरै पल्ट पिसिआर गरियो सधैँ नेगेटिभ नै आयो ! एन्टीबडी बन्यो कि भनेर प्रत्येक २ हप्ता जतिमा लगातार आरडिटी गरियो ! सधैँ नेगेटिभ नै रह्यो’, बाँस्तोला बताउँछन्। 
अहिले एन्टीबडी परीक्षण गर्दा बलियो हिसाबमा पोजेटिभ देखिनु खोपकै प्रभाव भएको उनको ठहर छ। 

के हो आइजिएम र आइजीजी एन्टीबडी?

डा.बाँस्तोलाका अनुसार इमिनोग्लोबलिन ‘एम’(आइजिएम) भनेको शरीरमा प्ररम्भिक अवस्थामा निर्माण हुने रोग प्रतिरोधात्मक शक्ति अर्थात एन्टिबडी हो। भाइरस शरीरमा छिरेको खण्डमा सुरुवाती अवस्थामा निर्माण हुन्छ। यो केही समय वा महिनासम्म शरीरमा रहन्छ। 

शरीरमा आइजिएम एन्टीबडी निर्माण भएको ६ वा ८ हप्तापछि अर्कै खालको एन्टीबडी बन्न सुरु हुन्छ। जुन लामो समयसम्म शरीरमा रहन्छ। यसलाई इमिनोग्लोबलिन ‘जी’ आइजीजी भनिन्छ। आइजीजी एन्टिबडी शरीरमा महिनौँ, वर्षाैँ वा जीवनभर पनि बन्न सक्छ। यो एन्टिबडी रहेसम्म भाइरसले बिरामी पार्न सक्दैन। 

कोरोना खोपमार्फत हालिएको स्पाइक प्रोटिनका कारण शरीरमा यो एन्टीबडी बनेको डा. बास्तोलाको जानकारी दिए। केही हप्तापछि आइजीजी एन्टीबडी बन्ने र खोपको अर्काे डोज दिएपछि एन्टीबडी निर्माण क्रम बढ्ने उनले बताए। 

खोप लगाएपछि आफूमा राम्रो प्रभाव देखिएकाले अन्यमा पनि यसले प्रभावकारी काम गर्ने ठहर बास्तोलाको छ।

‘खोपको प्रभाव मलाई देखिएको जस्तै पक्कै पनि धेरैमा प्रभावकारी हुन्छ’, उनी भन्छन्,  ‘कामै नगर्ने पानी ल्याएर चढाइदियो भन्ने चर्चा र बुझाइलाई चिर्ने काम गरेको छ।’ 

एन्टीबडी परीक्षण गर्दा आफूमा खोपको प्रभावकारिता देखिएको जानकारी दिँदै डा. बास्तोलाले आफ्नो फेसबुकमा यो कुरा सेयर गरेका छन्। ‘खोप प्रभावकारी रहेछ, प्राथमिकतामा परेकाले ढुक्कसँग लगाउनुहोस्’, उनी सुझाउँछन्। 

कोरोना निको भएकाले के गर्ने ? 

कोरोना संक्रमण भएर निको भएकाले खोप लगाउनु पर्दैन भन्ने बुझाइ उचित नभएको डा.बास्तोला बताउँछन्। कोराना संक्रमण भएर निको हुँदा बनेको एन्टीबडीलाई खोपले झन् मजबुद बनाउने उनले जानकारी दिए। 

‘संक्रमण भइसकेपछि पनि एक तहको एन्टीबडी बन्छ’, डाक्टर बास्तोला भन्छन्, ‘तर यो खोप लगाउँदा त्यो एन्टीबडी कडा बनेर आउँछ।’ संक्रमण मुक्त भइसकेकाले पनि लगाउँदा राम्रो हुने उनले बताए। 

रोग प्रतिरोध प्रणालीलाई ‘बुस्ट’ गर्न खोपले मद्दत गर्ने डा.बाँस्तोलाले जानकारी दिए। खोप लगाएपछि शरीरमा बन्ने आइजीजी एन्टीबडी लामो समयसम्म बस्ने भएकाले भाइरससँग प्रतिरक्षाका लगाउनु पर्ने डा.बास्तोलाले सुझाए।

अमेरिकी भाइरोललोजिस्टहरुले फाइजर र मोर्डना खोप लगाएका स्वास्थ्यकर्मीबारे गरेको एक अध्ययनको उदाहरण दिँदै डा.बाँस्तोलाले खोप संक्रमणमुक्त भएकाले लगाउन उचित भएको बताए। 

अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसियनका वैज्ञानिकले खोप लगाएका स्वास्थ्यकर्मी, कोरोना संक्रमण निको भएका बिरामी र संक्रमण नभएकामा अध्ययन गरेको थियो। 

त्यो अध्ययन अनुसार कोरोना संक्रमण भएका स्वास्थ्यकर्मीको शरीरमा तीव्र गतिमा आइजीजी एन्टिबडी बनेको थियो। कोरोना संक्रमण भएका, नभएका सबैले लगाउँदा फाइदा हुने भएकाले ढुक्क हुन डा. बाँस्तोलाले आग्रह गरे। 

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार २०:३५:३७,   अन्तिम अपडेट : माघ २६, २०७७ साेमबार २१:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया